मेरो प्यारो चेला तथा श्रद्धालु भक्तजनहरु,
यो काबेली माङहिम भनेको सबैभन्दा पुरानो माङहिम हो । पहिले पनि यस स्थलमा आएर बसेको हुँ । मैले आउने अवसर पाउँदा खुशी लागेको छ । महिला तथा सज्जनवृन्द, विभिन्न संघ–संस्थामा रहनुभएका पदाधिकारीहरु र सबैसँग भेटघाट गर्ने एउटा इच्छा राखेर तपाईहरुको निम्तोलाई स्वीकारेर आएको छु । दुइवटा खोलाको संगम मिलेर बीचमा बनेको तिर्थस्थल माङहिममा तपाईहरुले यहाँ आयोजना गरेको ठाउँ पहिला मलाई थाहा थिएन निस्केर बास बसेर चाही जाउँला भन्ने इच्छा राखेको थिए । यो कार्यक्रम गरेको देख्दाखेरी ज्याँदै खुशी लागेको छ ।
प्यारा भक्तजनहरु हो, संसारमा जब जब पापको फैलावट हुन्छ तब धर्मको उदय हुन्छ । अहिलेको युग भनेको मिसायलको युग, कम्प्युटरको युग हो । आगो मात्र ज्यादा बलेर गयो भने पानीको उदय हुन्छ । त्यसकारणले धर्मको आवश्यकता पर्छ, धर्म हामीलाई चाहिन्छ । धर्ममा सत्य लुकेको हुन्छ । धर्मको शक्तिद्धारा सत्यले संसार बाँधेको हुन्छ । यदि सत्य छैन् भने त्यो पञ्चतत्व पनि रहिरहन सक्दैन ।
मानिसले धर्मको महत्व बुझ्नु आफैमा गहिरो कुरा हो । हामीले धर्म जान्न सकेनौ भने मानिस हुन सक्दैनौं । मानिस भएर जन्मेर धर्मको महत्व बुझिएन भने पशु सरह होइन्छ । तर धर्मको महत्व जान्न सक्यौ भने तब मानिस हुन्छौं । धर्म बुझेपछि चेतना आउँछ । चेतना आएपछि ज्ञान ब्यँुझिन्छ । ज्ञान ब्युँझेपछि सारा कुराहरु हामीले सोच्ने शक्ति आउँछ ।
यो जगतमा सत्य र असत्य, कुमार्ग र सुमार्ग दुईवटा बाटो सृष्टिदेखि नै भएर आएको छ । कुमार्गको बाटो रोज्नु हुँदैन । कुर्मागको बाटो रोजियो भने अहंकार, क्रोध, घमण्ड, पाप चिताउँने, नराम्रो काम गर्ने हुन्छ । यी कुमार्गहरु हुन् । कुमार्गमा लागियो भने मुक्ति प्राप्त गर्न सकिदैन, सुमार्गको बाटो सत्यको बाटो पक्रिनुुपर्छ ।
अरु समाजहरु सुधार भएर गए । अरु धर्महरु आ–आफ्नै अस्तित्वमा छन् । किरात धर्म पनि आफ्नै अस्तित्वमा छ । सबै धर्मले सत्यको वयान गरेकोछ । नेपालमा विभिन्न जातजातिको रंगीविरगी फूल फुलिराखेको छ । त्यस्तै विश्वमा धेरै किसिमको जाति बसेका छन् । यो ईश्वरको एउटा सृष्टि हो । मानिस भएर दया गर्नुपर्छ, माया गर्नुपर्छ, सत्यको बाटो लिएर हिड्नुपर्छ । सत्यको बाटो लिएर हिड्न सकेनौ भने हामी मानिस हुन सक्दैनौं ।
हाम्रो किरात परिवार कुसंस्कार र कुमार्गमा चुर्लुम्म डुबेको छौं । हामी ईश्वरलाई पूजा आरधना गर्दा पनि सुँगुर, कुखुराले आरधना गर्ने गरिराखेको छौं । यो प्राणी भनेको ईश्वरको सृष्टि हो र तागेरा निङवाभुमाङ्ले सृष्टि गरेको हो । किनभने उनीहरुको सृष्टिलाई भोग काटेर दियौ भने त्यसले हामीलाई डण्ठा लाउँछ । हामी नर्कमा जान्छौ र यो पाप लाग्छ । त्यसैले जुनसुकै जातिले होस् इश्वरको नाममा भोग लाउने चलन छोड्नु पर्छ ।
यदी छोड्यौ भने मानिसको रुपमा पुग्न सक्छौं । यो छोडेनांै भने, हामी दिन प्रतिदिन नास हुँदै जान्छौं । महारानीको पुजा गर्छन् । म महारानी भनेर बक्छ्न । महारानी बनेर बकेता पनि भोग लाउने चलन, रक्तपात गर्ने चलनलाई चाहीँ हामीले छोड्नुपर्छ । यो कुरालाई छोड्न सकियो भने हामी मानिस बनिन्छौं । छोरीचेलीको सोतरीत खाने, अभक्ष कुराहरु सेवन गर्ने इत्यादी कुरामा हामीले सुधार गर्दै लानुपर्छ । जाँड, रक्सी, मासु, मंस बार्न सक्यौ भने पनि धेरै राम्रो किनभने हामीले मात्ने चीज खायौ भने हामीलाई नै नोक्सान हुन्छ ।
अरु देशका मान्छेहरु चन्द्रमा पुगे, मंगल ग्रह पुगे, अर्को संसारको खोजी गरिराखेका छन् भने तपाई हामी चाहीँ मद्यपान गरेर बजारमा लडेर, लाप्पा खेलेर, गोली हानाहान गरेर हाम्रो जीवन बर्वाद गरिरहेको छौं । त्यसकारण हामीले खाएपनि त्यस्तो तरिकाले होइन् । अलिकति सभ्य तरिकाले खानुपर्छ । र, नखानु झन् धेरै राम्रो । किनभने यी चीजहरुले हाम्रो दिमागलाई असर पारिरहेको हुन्छ । रोग लाग्छ अनि हाम्रो आयू छोटो हुन्छ र मरिन्छ ।
त्यसकारण हामीले त्यो विषालु चीजलाई अलिकति पन्छाउँने प्रयास गर्दै त्यसलाई छोडदै जानुपर्छ । र, हाम्रो घर, समाज छरछिमेक सम्पूर्णलाई सुधार गर्दै लानुपर्छ । हाम्रो समाज धेरै कुराले पछाडि परेको छ । तास, जुवा खेल्ने, जाँड रक्सी दिनभरी खाएर आफ्नो परिवार के भइरहेको छ, उता अल्मलिएर चौपटै, बेलुका बुढीलाई गोद्न थालिन्छ । भात पकाएन भनेर त्यस्तो कुसंस्कारलाई तोड्दै लानुपर्छ । यहीँ कुरा सल्लाह दिँदै आएको छु ।
छोरीलाई राम्रोसँग आशीर्वाद दिएर पठाउनु पर्नेमा राम्रोसँग दाम लिएर पठाउँछौं । सानो हुन्जेल भोकायो कि तिर्खायो कि हेरिन्छ । माया गरिन्छ र ठूलो भएपछि खसी, राँगा झैं बेचिन्छ, यो त मानव सभ्यता होइन् । यसलाई राक्षसी कर्म भनिन्छ । यो राक्षसी व्यवहार छोडेर लानुपर्छ । यसतर्फ सबैले सोच्नुपर्छ । यो मानव हितको लागि हो । मानव उद्धारको लागि हो । ज्ञान भनेको पानी जस्तो हो । पानी सबैको साझा हुन्छ । ज्ञान सबैको साझा हुन्छ । यो कसैको पेवा हुँदैन् । पक्रेर राख्न पनि सकिन्दैन् ।
कुसंस्कारमा चुर्लुम्म डुबेका छौं । किरात लिम्बू समाज पहिले सुब्बा थिए । तोङबामा नारिएर बस्थे । सोतरीत नखाउँ इष्ट देवीदेवताहरुमा रक्तपात नचढाई फूल फलेदोले सेवा गरौं यो हाम्रो मानवको उद्धारको निम्ति हो । यो चिन्न सकेनौं भने हाम्रो वर्ग दिन प्रतिदिन मरुभूमि बन्दै जान्छ । सुधार हुन सक्दैन् । गुह्ये किरा र भँमराको कथा जस्तो हुनु हुँदैन है । हामीले गुह्ये किराको व्यहोरा जस्तो गरिराखेका छौं । त्यस्तो गर्नु हुँदैन । मेन्छाम्गेन नाम्याप्मीसा अर्थात इश्वर पुत्र हाम्रो मुन्धुमले भन्छ । इश्वरको सृष्टि, इश्वरको पुत्र, माङ्को सृष्टि माङजस्तो काम गर्नुपर्ने देवपुत्र हो नि तर, देवपुत्र जस्तो काम गर्न छोडेर राक्षसको जस्तो काम गरिरहेका छौं । अहंकार, क्रोध, घमण्डलाई हामीले त्याग गर्न सक्नुपर्छ ।
मैले पहिला कुसंस्कारबारे सम्झाउँदाखेरी यसले के जानेको छ । नानी जन्माउन जानेको भो, पो जान्नु, हामीले नानी जन्माउँदाखेरीको जीउ दुखिरहेको छ भन्छ । तर, त्यो होइनन् । हामीले छोराछोरी सुधार गर्नको निमित्त चूलाबाट सुधार गर्नुपर्छ । हामीलाई यो चीजले बिसाएको छ । यो चीजलाई लत्याउँनुपर्छ । यो चीजबाट सावधान रहनुपर्छ भनेर सुधारको सुझाव दियौं भने पो सुध्रिन्छ । तर हाम्रो समाज कस्तो छ भने, गाउँमा बजार लाग्यो लाप्पा प¥यो, अर्को मेला उठ्यो लाप्पा प¥यो, झगडा ग¥यो, जेलनेल गयो, जरिवाना बुझायो अनि त्यतिमै हाम्रो जीवन बितेको छ ।
हामी केही गर्न जन्मेका छौं । केही प्रगति उन्नति गर्नुपरेको छ । हामीलाई बिगार्ने कुसंस्कार छ त्यसलाई विस्तारै पन्छाउने काम गर्नुपर्छ यो कुरा तपाईहरुसँग निवेदन गर्न चाहन्छु । पहिला हिमालसम्म पुगेको छु तर हाम्रो समाज जहाँ पनि अन्धकारमा डुबेको छ । यहाँदेखि सिक्किम, कालिम्पोङ, आसामसम्म धर्म प्रचार भइरहेको छ । यस धर्मलाई अन्तर्राष्ट्रिय जगतमा हामीले पु¥याइसकेका छौं । हामीसँग मुन्धुम शःसी छ । बुझ्नुपर्ने ज्ञान छ । त्यसको रस त्यसलाई ग्रहण गर्ने दिशामा हामी लागेका छैनौं । यसैले हामी पछाडि परेका छौं । हामी पछाडि परेकोमा कराउँनु हुँदैन् । हामी किन पछाडि परेका छौं भनेर आत्मामा सम्झिनुपर्छ । जबसम्म आत्मामा विश्लेषण गर्न सक्दैनांै तबसम्म पार लाग्न सक्दैनौं ।
किरातहरुको कुलमा महागुरु फाल्गुनन्द जन्म्यो र जुन शिक्षा दियो । त्यो कुरा हामीले जान्नुपर्छ र हामी पनि शिक्षित भएर जान्छौं । यो कुरा जान्न सकिएन भने मान्छे होइँदैन । किनभने जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड रै छ भनेर त्यसै फाल्छ । हाम्रो त्यहीँ दशा छ ।
हामीले गर्ने कर्महरुमा कुकर्म छोड्नुपर्छ । सकर्मलाई पकडिनु पर्छ । असत्य बाटोलाई छोड्नुपर्छ सत्य बाटोलाई पक्रिनुपर्छ । तब हामी सम्पूर्ण मानव समुदाय मुक्ति हुन सक्छौं । हामी सम्पूर्णले यो ज्ञानलाई ग्रहण गर्न सक्छौं र सम्पूर्ण मानिस भएर बाँच्न सक्छौं ।
यो माङहिम डेढ सय वर्ष बनेको माङहिम हो । यसबारे मलाई चिन्ता लागेको थियो । त्यसैले यस पटक यहाँका सेवासाबा र समितिसँग बसेर कुरा गर्ने विचार लिएर आएको हुँु । तपाईहरुले यो कार्यक्रम गर्नु भएकोमा ज्यादै खुशी र गौरव लागेको छ ।
यो माङहिमको निमित्त एउटा अक्षयकोष हामीले निर्माण गर्नुपर्छ । त्यसको व्याजबाट धूपबत्ति चलाउनु पर्छ । सेवासाबाहरुको जीविका पनि चलाउँनु पर्छ । यो माङहिमको सुरक्षा ग¥यो भने यो बाटो भनेको हिमाल यात्रासम्म जाने बाटो बनिँदैछ । यहाँ धेरै विदेशी मान्छेहरु भोलि गएर हिड्छन् । त्यसैले यो माङहिम सम्पूर्णले दर्शन गर्ने माङहिम हुन जान्छ । यो ठूलो तिर्थ हुन्छ । यो माङहिम धनि हुन्छ । यसमा हामीले उधौंली उभौंली सेवा ग¥यो भने, सम्पूर्ण मानव कल्याणको रक्षाको निम्ति सेवा ग¥यौं भने हाम्रो सधैं सुरक्षा हुन्छ । यो कुरा हामीले सोचेका छौं ।
अनिकाल लाग्ने समय आएको छ । बेलामा पानी पर्दैन । पृथ्वीमा ज्यादा पाप भएपछि पानी सहँदैन । वैज्ञानिकहरु जंगल मासिएर पानी आउँदैन भन्छन् । प्रत्येक घरमा झगडा मारामार भएपछि राम्रो हुँदैन । यस्तै छ संसार ।
पापको उपचार के हो भन्दाखेरी मात्र तागेरा निङवाभूमाङ हो । तागेरा निङवाभूमाङले बचायो भने बाँच्यौं नत्र बाँच्न सकिदैन । उहाँको भक्ति गर्नुपर्छ । सेवा गर्नुपर्छ, त्यसबाट फल मिल्छ, सिद्धि मिल्छ ।
समय छोटो भएकोले धेरै कुरा गर्न सकिन । तागेरा निङवाभूमाङले हामी सबैलाई रक्षा गरुन भन्ने विन्ती टक्रयाउँदै फेरि फेरी भेट हुनेछ, तबसम्मको लागि बिदा हुन्छु । जय किरात, तियाहा ।
(२०५५ साल फागुन ५ गते बुधवार ताप्लेजुङको साप्लाखुस्थित इङवा खोला र काबेली खोलाको दोभानमा अवस्थित काबेली माङहिमको प्राङगणमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङज्यूले दिनु भएको माङ आशीर्वचनको पूर्ण अंश)