३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नेपालमै पहिलोपटक इलामको रोङ गाउँपालिकामा लोपोन्मुख लाप्चा भाषाको पढाई



इलाम :लोपोन्मुख लाप्चा जातिको भाषा संरक्षण गर्ने उदेश्यले पूर्वी इलामको रोङ गाउँपालिकामा लाप्चा भाषामा पढाई सुरु भएको छ । लाप्चा भाषामा तयार भएको पाठ्यक्रमका आधारमा गाउँपालिकाले आधारभूत तहमा लाप्चा भाषामा पढाई सुरु गरेको हो ।

लाप्चाको बाहुल्यता रहेको रोङ गाउँपालिका ३ चिण्डेपानीस्थित शारदा आधारभूत विद्यालयमा लाप्चा भाषामा पढाई सुरु भएको हो । त्यस विद्यालयमा लाप्चासहित भुजेल र अन्य समुदायका विद्यार्थीले समेत लाप्चा भाषा पठनपाठन गरिरहेका छन् ।

गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तह (कक्षा १-५) को लाप्चा भाषामा पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई लाप्चा भाषामा तयार भएको नेपालको पहिलो पाठ्यक्रमको लिइएको छ ।  सोही पाठ्यक्रमको आधारमा गाउँपालिकाले कक्षा १ को पाठ्यपुस्तक लेखन गरी पढाइ सुरु गरेको हो ।

त्यस्तै कक्षा २ र ३ को समेत पाठ्यपुस्तक लेखन र छपाईको काम भईरहेको गाउँपालिकाले जनाएको छ । बाँकी कक्षा ४ र ५ को पाठ्यपुस्तक लेखन र छपाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाको लक्ष्य छ ।

लोपोन्मुख जातिको भाषालाई उजागर गर्दै भाषा संरक्षणका लागि इलामको रोङ गाउँपालिकाले कक्षा १ देखि ५ सम्म रोङ भाषामा अध्यापन गराउने गाउँपालिका अध्यक्ष शम्सेर राईले जानकारी दिए । ‘लोपोन्मुख लाप्चा जातिको सबैभन्दा धेरै बसोबास रोङमा छ । उनीहरुको भाषा संरक्षणका लागि अध्यापन गर्न लागेका हौं’ अध्यक्ष राईले भने, ‘लाप्चा जातिको बाहुल्यता रहेको विद्यालयमा ऐच्छिक विषयका रुपमा लाप्चा भाषा अध्यापन हुनेछ ।’

लोपोन्मुख लाप्चा जातिको बसोबास मुख्यगरी नेपालको पूर्वी इलाममा रहेको छ । इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न वडाहरुमा लाप्चा समुदायको बसोबास रहेको छ । जसमध्ये रोङ गाउँपालिकामा लाप्चा जातिको बाहुल्यता रहेको छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार लाप्चाको जनसंख्या तीन हजार चार सय ४५ रहेको पाइएको छ । जसमध्ये तीन हजार दुई सय ६४ जना ग्रामीण र एक सय ८१ जना शहरी क्षेत्रमा बस्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

छिमेकी देश भारतका दार्जीलिङ, सिक्किम, कालेङबुङलगायत विभिन्न विद्यालयमा लाप्चा भाषाको पढाई हुन्छ । यिनै विद्यालयबाट पाठ्यक्रम तयार गर्नका लागि पाठ्य सामग्रीहरु समेत संकलन गरेर ल्याइएको थियो ।

रोङ गाउँपालिकाको नाम लाप्चाको मातृभाषाबाट गरिएको हो । लाप्चा भाषाको मातृभाषालाई रोङ भनिन्छ ।

यस्तै रोङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम समेत निर्माण गरेको छ । स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेटेर तयार गरेको आधारभूत तह (कक्षा १-८) को पाठ्यक्रम कार्यान्वयन गर्न लागेको छ ।

रोङले स्थानीय पाठ्यक्रम आधारभूत तह (कक्षा १-८) तयार गरी र सोही पाठ्यक्रमका आधारमा कक्षा १, ४ र ६ को पाठ्यपुस्तक ‘हाम्रो रोङ गाउँपालिका’ लेखन गरी छपाई सम्पन्न गरेको छ । सो पाठ्यक्रम शैक्षिक सत्र २०८९ देखि कार्यान्वयन हुनेछ । अन्य कक्षाको पाठ्यपुस्तक आगामी आर्थिक वर्षमा सम्पन्न गरी कार्यान्वयनमा ल्याउने गाउँपालिकाको लक्ष्य छ ।

रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालय छन् ।

जसमध्ये कक्षा १२ सम्म पढाई हुने मावि २, कक्षा १० सम्म पढाई हुने ७, कक्षा ८ सम्म पढाई हुने आवि ४ र कक्षा १ देखि ३ सम्म र १ देखि ५ सम्म पढाई हुने विद्यालय १७ वटा रहेका छन् ।

लाप्चा भाषाको पाठ्यपुस्तक र स्थानीय पाठ्यक्रम

यसैबीच बुधबार एक कार्यक्रम गरी लाप्चा भाषाको पाठ्यपुस्तक र स्थानीय पाठ्यक्रम संयुक्त रुपमा लोकार्पण भएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले दुवैको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा डा. अवस्थीले रोङ भाषा संरक्षणका लागि पुस्तान्तरण गर्दै लैजान आवश्यक रहेको बताए । ‘मातृ भाषाको जग छ भने नेपाली पनि बन्छ र अंग्रेजी पनि बन्छ । म अंग्रेजी भाषाको विद्यार्थी मेरो मातृ भाषा दह्रो भएकाले नेपाली पनि काम चलाएँ । अंग्रेजी पनि राम्रो तरिकाले अघि बढाएको छु । अरु भाषा सिक्न पनि सहयोग मिलेको छ’ डा. अवस्थीले भने, ‘मातृभाषा पुस्तान्तरण भयो भने मात्र संरक्षण सुनिश्चित हुन्छ । मातृभाषा टुट्यो भने अन्य भाषा समेत टुट्छ ।’

डा. अवस्थीले अन्य पालिकाले समेत रोङ गाउँपालिकाबाट सिको गरेर मार्गदर्शकको रुपमा लिएर अघि बढ्न सुझाव दिए । डा. अवस्थीले ऐच्छिक बिषयको रुपमा राखेर भएपनि अरु समुदायले समेत लाप्चा भाषा सिक्नका लागि वातावरण तयार गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्व संविधासभा सदस्य टिकाराम सुब्बा लाप्चा र शकुन्तला लाप्चाले लाप्चा समुदाय एकै स्थानमा लामो समय बस्न नसक्दा संस्कृति लोप हुँदै गएको बताउँदै संरक्षणका लागि तीनै तहको सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

इतिहासविद् युद्धप्रसाद बैद्यले रोङ गाउँपालिकाले लाप्चा भाषाको पाठ्यक्रम बनाएर जिवन्त राख्ने महत्वपुर्ण काम गरेको बताए ।

कार्यक्रममा करफोक बहुमुखी क्याम्पसका पुर्व प्रमुख जहरसिंह राई, पाठ्यक्रम विज्ञ हरिचन्द्र लावती, जग्गादाता जयनारायण ढुङ्गानालगायतले लोपोन्मुख लाप्चा जातिको मातृभाषा संरक्षणमा जोड दिएका थिए ।

जग्गादातालाई सम्मान

कार्यक्रममा रोङ गाउँपालिकाको प्रशासनिक भवन निर्माण, कार्यालय निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता क्षेत्रका लागि जग्गादान गर्नेहरुलाई ताम्रपत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ । उनीहरुलाई गाउँपालिका अध्यक्ष शम्शेर राई, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाललगायतले सम्मान गरेका हुन् ।

नया बुलन्दबाट

 

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : १५ बजे