१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मेरो नजरमा : आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन – बालकृष्ण माबोहाङ



आदिवासी जनजाति महांसघको १० ‌औं राष्ट्रिय महाधिवेशन चैत्र ९ र १० गते नवलपुरमा भएको महाधिवेशनबाट गेल्जे लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन ।  सफल उद्यमीको छवि बनाएका शेर्पा नेपाली कांग्रेसको १४ ‌औ महाधिवेशन बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन्। कांग्रेस र एमालेको गठबन्धनबाट शेर्पा अध्यक्ष पदमा निर्वाचित भएको हो । महासंघमा राजनीतिक गुटबन्दीको सस्कार बढेकोमा कतै चर्चा र चिन्तन पनि उत्तिकै रहेको छ। समाजिक सन्जालमा महासंघलाई राजनीतिक बृतको फोहोरी खेलमा मुझ्न नहुने तर्क र मतहरु महाधिवेशन सकिए संगै सन्जालमा महासंघ प्रती आफ्नो मत राख्नेहरु उत्तिकै मात्रामा धेरै थिए । यसैगरी  पुर्व  महासचिव समेत रहेका बालकृष्ण माबोहाङले समेत  सामाजिक संजालमा यस्तो लेखेका छन् ।

महासङ्घको नेतृत्व चयनको कुरो: मेरो नजरमा

संस्थापक महासचिव सुरेश आले मगर ले विधानतः आफ्नो एक कार्यकाल पछि सहि सलामत परशुराम तामाङलाई महासचिव छोडे।परशुरामले विभिन्न बहानामा २ कार्यकाल गरे। असन्तोषको जरो रोपियो। त्यही असन्तोष चिर्न मैले उम्मेदवारी दिन पर्‍यो। अघि सरेँ/सारियो। चौथो महाधिवेशनबाट म निर्वाचित महासचिव बनेँ।

३ वर्षे कार्यकाल सकेँ। कसलाई महासचिव बनाउने? मेरो मनमा गुरुङ जनजाति आयो। कारण डा. हर्क गुरुङ, प्राध्यापक सन्त गुरुङ, डा. ओम गुरुङ, डा. शेखर गुरुङ, एक से एक व्यक्तिहरू थिए। महासङ्घको नेतृत्व आन्दोलन गर्ने, नेतृत्व लिने, र बौद्धिक, भौतिक, आर्थिक, तथा राजनीतिक आधारशिला गुरुङको भएकोले राम्रो हुने मेरो विचार थियो।

महासङ्घको सदस्य तमु बौद्ध सेवा समिति प्रा. सन्त गुरुङको हातमा थियो। एक दिन प्रा. सन्तसित कुरा गरेँ। महासङ्घ गुरुङ्ले नेतृत्व लिन पर्‍यो । उनले सोधे, ” सम्भावित महासचिव को सोच्नु भएको छ? माबुहाङ जी?” मैले भने, “त्यो त तपाइहरूले सोच्ने हो!” उनले भने, “त्यै पनि आफ्नो सक्सेसर त तपाइले नै सोच्नु भा होला नि!”

डा. ओम र उनको राजनीति अलि मिल्दैन थियो। तर ओमसित एक पटक कुरा गरिसकेको थिएँ। प्राध्यापक सन्तलाई भने, “डा. ओम!” नमान्लान कि भन्ने थियो, तर मजाले माने। उनले भने, “हुन त मसाल हुन, हामीलाई आन्दोलनकारी चाहिएको छ।” मैले भने त्यसै कारण उनी उपयुक्त व्यक्ति हुन।” सन्तले भने, “नेफिनलाई मसाल बनायो भने, खतम छ।” “नबनाउन पर्ने हो,” मैले भने। ओमलाई भने,”तपाईँ महासचिव हुने हो, तर तपाइले आफ्नो पार्टीको दायित्वहरूबाट मुक्त हुन पर्छ।”

चौथो महाधिवेशनमा मसित पराजित भएता पनि पुरै कार्यकाल एकदम सहयोगी बनेका मल्ल के सुन्दरको नाम मैले लिन सकिन। कारण गैर नेवार जनजातिले नेवारलाई एकदम एडभान्स जनजाति मान्ने, र नेवारमा जनजाति होइनौँ भन्ने भावना कतै, कतै अझै थियो।

मैले जनजाति वौद्धिक वर्ग बीच पटक पटक बैठक राखेँ। अन्तिम बैठक बौद्धमा बसियो, डा. गणेश योञ्जनको घरमा। डा. हर्कले मल्ललाई यो पटक ओमलाई छोड्न कारण सहित भने। र अर्को पटक कृष्ण सुन्दर हुने एकप्रकारको घोषणा नै गरे । डा. गुरुङले मल्ललाई कृष्ण सुन्दर भन्थे। उनलाई माया पनि गर्थे। हामीले मल्ल के सुन्दर भन्थ्यौँ।

पाचौं महाधिवेशनबाट निर्विरोध महासचिव डा.ओम बने। मेरो कार्यकालमा ईएसपिलाई प्रप‍ोजल लेखेर, पटक पटक डिफेण्ड गरेर डेढ वर्ष लाएर प्राप्त १९ करोडको जेप प्रोजेक्ट सहित महासचिव जिम्मा दिएर, मैले महासङ्घ सुम्पे।

डा. ओमको कार्यकालमा जेप परियोजना सहित ३ वर्ष छेलोखेलो भयो। माओवादी सशस्त्र सङ्घर्ष, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, १९ दिने शान्तिपूर्ण जनआन्दोलन उनको पदावधीको समयमा पर्थ्यो। त्यसको छिर्का जनजाति आन्दोलनलाई पनि पर्यो । तर महासङ्घको नेतृत्व के हुने भन्ने विषयमा महासचिव डा.ओमले खासै आन्तरिक तयारी वा परामर्श गरेनन्। बरु चर्चा के थियो भने विधान संशोधन गरेर महासचिव दोहर्‍याउने सोचमा डा.ओम छन्।

छैटौँ महाधिवेशनमा मल्ल के सुन्दर महासचिवको लागि आकाङ्क्षी थिए। तर मल्ललाई आफ्नो सक्सेसर बनाउन ओमले कुनै भूमिका खेलेनन्। बरु मल्ल प्रति उनको सकारात्मक सोच बनेन। त्यसो त पासाङ ओमको सचिवालयमा दाहिने हात नै थिए। यसै बिच पासाङ सेर्पाले एमालेको महासचिव माधवकुमार नेपालको आशीर्वाद ल्याएको हल्ला चल्यो। अरु पनि नेपालकहाँ पुगेको पनि हल्ला चल्यो। तर “यो पटक पासाङ जी हाम्रो पार्टीको महासचिव हुन” भनेर माधवकुमार नेपालले आधिकारिक रूपमा नै भनेको हल्ला बजारमा आयो । काङ्ग्रेस यतिन्जेल महासङ्घको राजनीतिमा बेपत्ता थियो।

मल्ल के सुन्दरको उम्मेदवारी विरुद्ध पासाङले उम्मेदवारी दिए। म पदेन सल्लाकार थिएँ। मल्लको पक्षमा खुलेर मत माग्न थालेँ, तर स्वयम् मल्ल लगायत पासाङ हुनु हुन्न भन्नेहरूले ग्राउन्ड छोडेर घर, घर लागि सकेको थाहा पाए पछि म पनि घर लागेँ।

त्यसपछि दलको लागि महासङ्गमा ढोका खुल्यो। पासाङ, राजकुमार लेखी, नगेन्द्र कुमाल, जगत बराम, र दसौँ महाधिवेशनबाट ग्याल्जे लामा सेर्पा सम्म हेर्दा राजनीतिक दलको नाममा जनजाति समुदायका पार्टीका व्यक्तिले महासङ्घ कयाप्चर गरेको अवस्था देखिन्छ। किनकि न सम्बन्धित पार्टीको नीति तथा सिद्धान्त नेपाल आदिवासी जनजाति महासङ्घको नीति तथा सिद्धान्तसित मिल्छ, न अनुहार मिल्छ। तर पार्टीको महासचिव बन्ने जोड चाहिँ बडो विचित्र तरिकाले काङ्ग्रेस, एमाले, माओवादी सबैको मिल्छ। त्यसो त दलका नामबाट निर्वाचित पदाधिकारीले जनजाति महासङ्घलाई आ’आफ्नो पार्टीको नीति सिद्धान्तको पनि बनाउन प्रयत्न गरेको, वा बनाएको पनि छैन। त्यसो भए जनजाति महासङ्गमा दलको प्रत्यक्ष्य उपस्थिति किन?

महासङ्घको नाममा रहेको सामाजिक, आर्थिक, भौतिक, राजनीतिक वा वैयक्तिक जुन पुँजी छ, त्यसमा उनीहरूको आँखा लागेको हुन पर्छ। स्वार्थ पूर्ति बाहेक अरू लाभ वा उन्नति के ह‍ोलात? बहसको चर्चा गर्नु मनासिव होला।

महासङ्घ नितान्त जनजातीय संस्था हो, सदस्य जनजातिय संगठन हुन्छ। राजनीतिक पार्टीमा व्यक्ति, चौवानी सदस्यता लिएर बन्छन, महासङ्घ ठिक उल्टो हो। जनजातीय संगठनमा लागेको व्यक्तिलाई महासङ्घको “राजनीतिमा” लाग्दा बरु हानी हुन पर्नेमा किन राजनीतिक पार्टीको बिल्ला प्रयोग गरिरहेछन?? निर्मम बहशको जरुरी छ।

अझ सम्मको विश्लेषणमा महासङ्घको प्लेटफर्मलाई स्प्रिङ बोर्ड बनाउने पहिलो उद्देश्य हो। राजनीतिक लाभ भन्दा, अरू(?) लाभ लिनलाई महासंघलाई दुरुपयोग गर्ने, दोस्रो उद्देश्य हो। महासङ्घ वा जनजातिको सङ्गठनको प्लेटफर्म प्रयोग गरेर विदेश घुम्ने, घुमाउने, र उस्तै परे मान्छे ओसार-पसार गर्ने सम्मको हरकत नहोला भन्न सकिन्न।

नयाँ कार्य समितिलाई कार्यकालको सफलताको शुभकामना छ। र सबै जनजातिलाई आ’आफ्नो सङ्घ-संस्था र महासङ्घलाई जनजातिको मुद्धाहरु बोक्न र गलत कार्य नगर्न र हुन सक्ने सम्भावना प्रति सचेत रहन र राख्न हार्दिक अनुरोध छ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १ : ०८ बजे