
युके/युकेमा रहेका किरात समुदायले किरात धर्म दर्शन दाता, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३८ औं जन्मजयन्ती भव्य मनाएको छ ।
नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्य र आसफोर्ड बरो काउन्सिलका मेयर जेनी वेभको विशेष आतिथ्यतामा १२ नोभेम्बर २०२२ का दिन जन्मजयन्ती समारोह भएको हो ।
दुई चरणमा आयोजित कार्यक्रम अन्तर्गत पहिलो चरण चासोक सेवा तथा विश्व शान्ति सेवा र दोस्रो चरणको कार्यक्रममा महागुरु फाल्गुनन्दको जीवनी र योगदानको बारेमा चर्चा भएको थियो । प्रमुख अतिथि आचार्यले तत्कालिन महागुरु फाल्गुनन्दको योगदान विश्वब्यापी हुँदै जानु सुखद रहेको र वहाँलाई सम्झने कार्यक्रमले आफूलाई खुसि लागेको बताए । त्यस्तैगरी विशेष अतिथी मेयर वेभले समाजको महान शिक्षकलाई सम्झने यो कार्यक्रमले आफू प्रभावित भएको बताइन र त्यस्तो कार्यक्रम आफ्नै क्षेत्रमा आयोजना गरिएकोमा खुशी ब्यक्त गरिन ।
पहिलो चरणको चासोक सेवा तथा विश्व शान्ति सेवा साङदाङ्गेन वरुमसाबा मंगलसिं लिङदेनले नेतृत्व गरेका थिए । डोनकाष्टर, सेफिल्ड, वेल्स, स्वीन्डन, अल्डरसुट, क्यान्टवरी लगायत विभिन्न ठाउँबाट आसफोर्ड टाउन नजिकको कार्यक्रमस्थलमा नाम्धुङ लाधुङ सेमी सेवाको निमित्त फूल अछेत्ता सहित उपस्थित भएका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ युकेका अध्यक्ष रामकुमार सिं थेबेको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव लाल लिङदेनले संचालन गरेका थिए भने उपस्थित सबैलाई समारोहका संयोजक तथा किरात धर्म तथा साहित्य उत्थान संघ युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङले स्वागत मन्तब्य राखेका थिए । महागुरुको जीवनी बारेमा संघका उपाध्यक्ष नन्दा चेम्जोङले प्रस्तुत गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाका अध्यक्ष सुदिप थोप्रा, लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम, सगरमाथा नेपनलीज कमयुनिटीका कार्यबाहक अध्यक्ष डम्बर सिंगक, गायक ब्रबिम सेर्माले शुभकामना ब्यक्त गरेका थिए ।
स्मरण रहोस, किरात धर्म तथा साहित्य उत्थान संघ युकेले विगत ११ बर्ष देखि निरन्तर कार्यक्रम गर्दै आएको छ । प्रत्येक बर्ष विभिन्न स्थानमा कार्यक्रम गर्ने गरिएकोमा केन्टको आसफोर्डका यो बर्ष तेस्रो पटक हो । विभिन्न क्षेत्रमा प्रगति चुम्न सफल करिव आधा दर्जन महानुभावहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।