७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाममा आदिवासी याक्थुङ साँस्कृतिक महोत्सव र २५ औं राष्ट्रिय चुम्लुङ हुँदै



इलाम : इलाममा बिहीबारदेखि आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव सुरु हुँदैछ । किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना हुने महोत्सवमा दुई सय बढी च्याब्रुङ प्रदर्शन गरिने जानकारी दिएको छ ।

संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको महोत्सपमा इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित हुने अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

महोत्सवको पहिलो दिन साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङ/लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने अध्यक्ष सोङ्मीले जानकारी दिइन् ।

दोस्रो दिन विभिन्न समसामयिक विषयमा छलफल र सबै सहभागीहरुलाई तरेचा (लिम्बू साँस्कृतिक परिकार) मा सहभागी गराइने अध्यक्ष सोङ्मीले बताउनुभयो । त्यस्तै अन्य साँस्कृतिक परिकारहरु तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ ।

आदिवासी याक्थुङ/लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन, विकास एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सोङ्मीले बताइन् । ‘वर्तमान युवा पिँढी आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि इलाममा पहिलो पटक महोत्सव आयोजना गरिएको छ’ अध्यक्ष सोङ्मीले भनिन् ‘महोत्सवमा आदिवासी याक्थुङ/लिम्बू समुदायको संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु रहेनछन् ।’

इलाम चोक बजारमा हुने महोत्सवमा याक्थुङ/लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट सहभागी हुने महोत्सव प्रचारप्रसार उपसिमितका सहसंयोजक अतित योङहाङले जानकारी दिए ।

छलफलमा करिब दुई सय ५० जना सहभागी हुने आयोजकको अनुमान छ । छलफलमा कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान किरात नामकरणको अवस्था र भावी रणनीति, ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल हुने सहसंयोजक योङहाङले जानकारी दिए ।

त्यस्तै, इलाममा विजयबहादुर लिम्बूलगायत सहिदको लिम्बुवानका लागि बालिदानको चर्चा र याक्थुङ/लिम्बू भाषा अभियान्ता आसाहाङ मादेनको योगदानको चर्चा समेत गरिने उनले जानकारी दिए ।

लिम्बू समुदाय आदिवासी जनजाति समुदायका धेरै समुदायमध्ये भाषा, संस्कृति र लिपिमा धनी समुदाय हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार तीन सय ७९ रहेकोमा इलाममा मात्र ४५ हजार सात रहेको छ ।

Nayabulanda.com

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ७ : ३६ बजे