२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

पवित्रहाङमा गोल्डकपः दारिम्बा पाँचथरको सहज जित



पवित्रहाङमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा पाँचथरको दारिम्बा फुटबल क्लबले विजयी यात्रा शुरु गरेको छ।

इलामको माङसेबुङ-५ स्थित आत्मानन्द रंगशालामा  माघ २६ गते भएको खेलामा दारिम्बाले पद्मा स्पोर्टस क्लब, ओखलढुङ्गालाई २- ० गोल अन्तरले पराजित गरेको हो। वर्षा ओलीले दारिम्बाका लागि दुई गोल गरेकी थिइन्। वर्षा आजको खेलको उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५७० रुपैयाँ प्राप्त गरेकी छन्| भोलिको खेल जनता सेवेन स्पोर्ट क्लब‚ इलाम र बेलबारी फुटबल क्लब‚ मोरङबीच हुनेछ|

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा भएको १६औं संस्करणको विजेताले तीन लाख ७० र उपविजेताले दुई लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आत्मा–पवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो।

प्रतियोगिता किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महासेवा समारोह र आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा भएको हो।

प्रकाशित मिति : २७ माघ २०८२, सोमबार  ५ : ३४ बजे