२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

पवित्रहाङमा गोल्डकपमा जनता सेवेन क्लब दोस्रो चरणमा प्रबेश



पवित्रहाङमा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा इलामको जनता सेवेन स्पोर्ट क्लब दोस्रो चरणमा प्रबेश गरेको छ।

इलामको माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा जनता सेवेन स्पोर्ट क्लब ईलामले बेलबारी फुटबल क्लब मोरङलाई २–१ गोलले पराजित गरेको हो ।
जनता सेभेनका रेखा बिष्टले खेलको ९ औ मिनेटमा गोल गरेको थियो । दोस्रो गोल मध्यन्तरको १५ औ मिनेट सरिता नाथले अङ्क थप्दै टिमलाई अग्रता दिलाए ।
दोश्रो हाफमा बेलबारी मोरङका लोचना लिम्बुले ३३ औ मिनेटमा १ गोल गरेपनि खेलमा फर्कन भने सकेन ।  खेलको उत्कृष्ट खेलाडी रेखा बिष्टले ३ हजार ५७० प्राप्त गरेकी छन्।

भोलिको खेल फेयर क्लब, धरान र हिमालय फुटबल क्लब कर्साङ, दार्जीलिङबिच हुनेछ ।

माङसेबुङ-५ स्थित आत्मानन्द रंगशालामा माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन प्रतियोगितामा नेपालको फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा र लेटाङ फुटबल क्लब मोरङ सहभागी छन्। यसैगरी भारतको हिमालय फुटबल क्लब कर्साङ सहभागी रहेको छ।

किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा भएको १६औं संस्करणको विजेताले तीन लाख ७० र उपविजेताले दुई लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आत्मा–पवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो।

प्रतियोगिता किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महासेवा समारोह र आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा भएको हो।

 

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार  ८ : २६ बजे