७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रदेश १ को नाम टुंगो लगाउन पहिलो चरणको सर्वदलीय बैठक



विराटनगर: प्रदेश नं. १ को नामाकरणका लागि आज सर्वदलीय बैठक विराटनगरमा बसेको छ । आगामी हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने गरी पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका लागि सर्वदलीय बैठक आह्वान गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित गठन्धनका प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरु प्रदेश प्रमुख लगायत नेताहरु सहभागी भएका छन् । प्रदेश नामकरणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी स्वास्थ्यमन्त्री जयराम यादवले गरेका थिए । बैठकमा दलबाट प्रतिनिधित्व गर्ने सरकारका सबै मन्त्रीहरु सहभागी भएका थिए ।

मंगलवार मध्यान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सबै दलका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले छ वटा प्रदेशहरुको नामाकरण भएपछि प्रदेश १ सरकारलाई नामकरण गर्न दवाव परेको बारेमा बढि जोड दिएका थिए ।

फाइल तस्बिर

संविधानमा प्रदेशको राजधानी र नाम सम्बन्धित प्रदेशसभाले टुंगो लगाउने व्यवस्था छ । सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो । निवर्तमान मुख्यमन्त्री शेरधन राई र भीम आचार्यले नामकरणको विषय प्राथमिकतामा रहेको बताए पनि त्यसलाई संसद बैठकमा छलफल गर्न भने सकेका थिएनन् ।

प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका प्रतिनिधिहरु पनि बैठकमा सहभागी भएका थिए ।

धारणा सबैले राखेपछि मुख्यमन्त्री राई पुनः अर्को चरणमा छलफल गर्ने भनी बैठक सम्पन्न गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ४३ बजे