७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ ५ मा किरात ‘लिम्बू’ भाषा कामकाजी रूपमा प्रभावकारी बन्दै



इलाम : माङसेबुङ गाउँपालिकामा तीन वर्षदेखि लागू गरिएको ‘लिम्बू’ भाषा सरकारी कामकाजी रूपमा प्रभावकारी बन्दै गएको छ । जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङ गाउँपालिका–५ मा ०७५ सालदेखि देशमै पहिलोपटक ‘लिम्बू’ भाषालाई सरकारी कामकाजीको रूपमा लागू गरिएको थियो । लिम्बू जातिको एकल बाहुल्य रहेको सो वडामा ‘लिम्बू’ भाषा र ‘किरात सिरिजंगा’ लिपिलाई सरकारी कामकाजीको रूपमा प्रयोगमा ल्याइएको हो ।

अहिले वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवं विभिन्न अनुसूची फारामहरूमा समेत ‘लिम्बू’ भाषा र ‘किरात सिरिजंगा’ लिपि प्रचलनमा ल्याएको छ । वडाका लागि गाउँपालिकाले सहायक चौथो तहको एक जना ‘दोभाषे कर्मचारी’ नियुक्त गरी ‘लिम्बू’ भाषालाई कार्यान्वयनलाई प्रभावकारी बनाएको छ । ‘दोभाषे कर्मचारी’ कार्यालय र सेवाग्राहीबीच दोभाषेको काम गर्नेछन् ।

यस्तै वडा कार्यालयले वडाभित्रका गैरसरकारी संघसंथाहरूलाई कार्यालयको साइनबोर्ड, लेटरप्याड र छापमा अनिवार्य ‘लिम्बू’ भाषा र ‘किरात सिरिजंगा’ लिपि प्रयोग गर्न अनुरोध गरेको छ । ‘लिम्बू’ भाषालाई थप प्रभावकारी र व्यावहारिक प्रयोगका निम्ति भन्दै सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो अनुरोध गरेको हो ।

त्यस्तै व्यावसायिक संस्थाहरूलाई ‘लिम्बू’ भाषा र ‘किरात सिरिजंगा’ लिपिसहितको साइनबोर्ड देखिने ठाउँमा राख्ने र आवश्यक कागजात, बिल एवं भौचरसमेतमा समेत ‘लिम्बू’ भाषा र ‘किरात सिरिजंगा’ लिपि प्रयोग गर्न अनुरोध गरेको छ । साथै वडामा दर्ता भएका सबै व्यवसायीलाई पनि व्यवसायको साइनबोर्ड ‘लिम्बू’ भाषा र ‘किरात सिरिजंगा’ लिपिमा लेखी नवीकरण गर्न अनुरोध गरेको छ ।

‘लिम्बू’ र ‘वान्तवा’ भाषामा पठनपाठन

यस्तै माङसेबुङ गाउँपालिकाकामा मातृभाषा शिक्षा लागू गरेको छ । जातीय बाहुल्यताका आधारमा तीन विद्यालयमा ‘लिम्बू’ र एक विद्यालयमा ‘वान्तवा’ मातृभाषाका पठनपाठन लागू गरेको हो । लिम्बू जातिको बाहुल्यता रहेका वडा–३ को पवित्रा आधारभूत विद्यालय, वडा–५ को साम्जिक मुन्धुम आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा ‘लिम्बू’ भाषामा पठनपाठन भइरहेको छ । जसमध्ये साम्जिक मुन्धुम आविमा नेपाली र अंग्रेजीबाहेक अन्य सबै विषय ‘लिम्बू’ भाषामा पढाइ र ‘किरात सिरिजंगा’ मा लेखाइ हुन्छ ।

त्यस्तै राई वान्तावा जातिको बाहुल्यता रहेको वडा–६ को चिसोपानी माध्यमिक विद्यालयमा ‘वान्तवा’ भाषाको पठनपाठन सुरु भएको छ । ‘स्थानीय भाषा’ विषयअन्तर्गत मातृभाषामा पठनपाठन भइरहेको छ । ‘लिम्बू’ र ‘वान्तवा’ दुवै भाषाको विषयमा लिपि भने ‘किरात सिरिजंगा’ लिपि नै प्रयोग हुने गर्दछ । अन्य समुदायका विद्यार्थीले समेत स्थानीय भाषाअन्तर्गत ‘लिम्बू’ र ‘वान्तवा’ दुवै भाषा पठनपाठन गर्ने गरेका छन् ।

मातृभाषा शिक्षाका लागि यसका लागि गाउँपालिकाले छुट्टै मातृभाषा शिक्षक दरबन्दीको व्यवस्था गरेको छ । गाउँपालिकाले प्राथमिक तहको भाषिक शिक्षक अनुदान दरबन्दी सिर्जना गरेर मातृभाषा शिक्षाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

माङसेबुङ गाउँपालिकामा कक्षा १ देखि १२ सम्मका माध्यमिक विद्यालय सामुदायिक तीन वटा, १ देखि १० सम्मका माध्यमिक विद्यालय सामुदायिक चार र संस्थागत दुई वटा, आधारभूत विद्यालय सामुदायिक २५ र संस्थागत दुई वटा एवं एउटा मुन्धुम पाठशाला सञ्चालित छन् ।

किरात धर्मग्रन्थ ‘मुन्धुम’ पढाई

यसैगरी माङसेबुङ गाउँपालिकामा किरात धर्मग्रन्थ मुन्धुमसमेत पढाइ हुन्छ । वडा–५ स्थित किरात साम्जिक मुन्धुम निसामहिम (मुन्धुम पाठशाला) मा कक्षा ५ सम्मको तहगत मुन्धुम पढाइ हुने गर्दछ ।

त्यहाँ किरात साम्जिक मुन्धुम (वेदशास्त्र), किरात सस्सीमुन्धुम (दर्शनशास्त्र), किरात खाइक् मुन्धुम (ज्योतिषशास्त्र), किरात सप्पान (साहित्य), किरात सिदासम्बा (आयुर्वेद) लगायत पढाइ भइरहेको पाठशालाका तुम् सिक्साम्बा (प्रधानाध्यापक) तलितचन्द्र फियाकले जानकारी दिए ।

त्यहाँ अन्य विद्यालयमा जस्तो उमेरको हदबन्दी छैन । १५ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका वृद्धवृद्धासमेत मुन्धुम पढ्ने गर्दछन् । त्यहाँ पनि पढाइ ‘लिम्बू’ भाषामा र लेखाइ ‘किरात सिरिजंगा’ लिपिमा हुने गर्दछ ।

सय विद्यार्थी रहेको सो पाठशालामा चार जना स्वयंसेवक शिक्षक कार्यरत छन् । संघीय सरकारबाट वार्षिक दुई लाख अनुदान पाउँदै आएको सो पाठशाला सञ्चालनका लागि स्थानीयले सहयोग गर्दै आएका छन् । मुन्धुम पाठशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षदेखि माङसेबुङ गाउँपालिकाबाट दुई वटा प्राथमिक तहको शिक्षकका लागि अनुदान दिएको छ । शिक्षक नियुक्ति प्रक्रियामा रहेको प्रधानाध्यापक फियाकले जानकारी दिए ।

Nayabulanda.com

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : ३३ बजे