७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन सार्वजनिक यातायातका साधन नचल्ने



काठमाडौँ : आगमी वैशाक ३० गते स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् ।

त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो । आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।

सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको छ । तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै अनुमति लिनुपर्नेछ ।

सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए ।

‘एम्बुलेन्स दमकल चल्छन्, दुध, तरकारीका गाडी चल्छन्, पत्रकारहरुले अनुमति लिएर हिँड्न पाइन्छ’, प्रवक्ता पौडेलले भने । त्यस्तै आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएर भनेको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ०६ बजे