३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

किरात सावायेहाङ आप्लुङगेन ताप्फेक सेवा समापन कार्यक्रम [ फोटो ]



किरात समाचार । इलामको माङ्सेबुङ ३ फुलुङगीस्थित विश्व शान्ति तथा मानव एकताको लागि आयोजित सप्ताहव्यापी किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवाको समापन कार्यक्रम आज आइतबार हुने भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा  सावायेहाङ आप्लुङगेन ताप्फेक सेवाको  समापन कार्यक्रम हुने भएको छ ।

यसअघि माघ १२ गते  नक्कलेघाटमा माङहुप वादेम्मा सेवा गरिएको थियो । त्यसैगरी माघ १३ गते पान्थर फेदेनको सुम्हात्लुङ गढी येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो। र, फागुन ५ गतेदेखि १३ गतेसम्म पान्थर यासकको कुम्मायक कुसायकमा सप्ताहव्यापी   सेवा गरिएको थियो । त्यसैगरी चैत ६ गतेदेखि १२ गतेसम्म  नियमित सेवा सुचारु गरिएको सप्ताहव्यापी लाधुङसेमी सेवा समापन गरिने भएको हो ।

सेवा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिने सेवा आयोजक समितिले बताएका छन् ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको गरिमामय समुपस्थितिमा आइतबार हुने सेवा समापन कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा समेत वितरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : २९ बजे