७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाममा जेठ २६ गतेबाट यु–२० रग्बी प्रतियोगिता हुने



इलाम । इलामको माई नगरपालिकामा जेठ २६ गतेबाट यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

प्रतियोगितामा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागी हुने आयोजकले बताए । नेपाल रग्बी संघको आयोजना तथा प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा दुई सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने छ । प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाकले जानकारी दिए । केन्द्रिय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।
संघियताको पूर्ण अभ्यास स्वरुप जिल्ला जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना अघि वढाउनु सकारात्मक रहेको माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।

इलाममा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए । प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुने छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १२ : ५२ बजे