ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक बिदाबाहेक आन्दोलन वा अन्य कारणबाट पठनपाठन नै अवरुद्ध हुनेगरी विद्यालय बन्द गर्बे सम्बन्धित शिक्षकलाई कारबाही गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष राजन लिम्बू द्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको शिक्षा ऐन २०७६, नियमावली २०७९ र प्रचलित कानुनबमोजिम विद्यालय बन्द गर्ने शिक्षकलाई कार्वाही गर्ने उल्लेख गरिएको छ।
प्रस्तावित सङ्घीय शिक्षा विधेयकको सन्दर्भलाई लिएर विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम रहेको बुझिएकाले यसप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख विज्ञप्तिमा छ।
आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ छैन भन्ने विषय महत्त्वपूर्ण हुन आउने भन्दै बालबालिकाको पढ्न पाउने अधिकारलाई ध्यान दिन विज्ञप्तिमार्फत गाउँपालिकाले आग्रह गरेको छ।
शैक्षिक सुधारको योजनाअन्तर्गत विभिन्न क्रियाकलाप गर्दै आइरहेको गाउँपालिकाले पठनपाठनमा प्रत्यक्ष असर पुग्ने विद्यालय बन्द, हडतालजस्ता कार्य कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
पालिकाभित्र अध्ययनरत आफ्ना बालबालिकाको सुन्दर भविष्यप्रति गम्भीर बन्न र विद्यालयहरू निर्बाध तथा सहज रूपमा सञ्चालन गर्न गराउनमा गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीमा विज्ञप्तिमार्फत गाउँपालिकाले निर्देशनात्मक अनुरोध गरेको छ।



