७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

तिजोक पाँचथरले जित्यो आत्मानन्द कप उपाधि



माङसेबुङ । १६ औ  आत्मानन्द कप  फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा आजको फाइनल खेल भएको थियोे ।

माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक पाँचथरले  उपाधि जितेको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ७० औ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्नाको अवसरमा संचालित आत्मानन्द कपको फाइनलमा अङसीमाङ र अङसीमामाज्यूहरुको देव उपस्थिति समेत भएको थियोे ।

खेलको निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गरिएको थियो ।

तिजोक अघिल्लो संस्करणमा उपविजेता बनेको थियो ।

टाइब्रेकरमा पाँचथरका रोशन आङदेम्बे, बिजय राई, जमिन लिम्बू, निर्देश राई र योगेन कार्कीले जाली चुमाएका थिए । यस्तै माङसेबुङका लागि किस्मत लिम्बू, निर्मल राई, च्याङबा तामाङ, तारा लिम्बू र रबिन मगरले गोल गरेका थिए ।

त्यसपछि भएको सडन डेथमा तिजोक पाँचथरका लागि मनिस भण्डारी र रोशन नेपालले गोल गरेका थिए । यता माङसेबुङका लागि भने सन्तोस न्योपानेले गोल गर्दा ओसन राईको प्रहार तिजोकका गोलिकिपर रोशन नेपालले बचाएका थिए ।

विजेता भएसँगै तिजोकले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ सँगै ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता उपविजेता बनेका माङसेबुङले भने नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

प्रतियोगिताको उत्कृष्ट डिफेण्डर विजेता टिम तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर तिजोकका रोशन नेपाल, सर्वाधिक गोलकर्ता माङसेबुङका निर्देश राई घोषित भए । त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदयीमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।

विजेता र उपविजेता टिम र खेलडीहरुलाई नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई र उपाध्यक्ष बिनोद नेम्बाङले पुरस्कार वितरण गरेका थिए  ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ०६ बजे