७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कियाचुको अगुवाईमा झापाको विभिन्न ठाउँहरुमा चासोक तङनाम मनाइदै



दमक । किरात याक्थुङ चुम्लुङको अगुवाईमा झापाका विभिन्न ठाउँहरुमा चासोक तङनाम भब्य रुपमा मनाइने भएको छ ।

शुक्रबार दमकमा पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमबारे जानकारी दिदैं किरात याक्थुङ चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले चासोक तङ्नामलाई चुम्लुङले विशेष महत्व दिएको बताएका छन् ।

चासोक र याक्थुङ लिम्बूहरुले प्रयोग गर्ने सिरिजंगा लिपीको पुनः उत्थानकर्ता सिरिजंगा थेबेको ३१९ औं जन्मजयन्ति कार्यक्रम भव्य रूपमा मनाइने फियाकको भनाइ छ ।

उनले झापाको शिवसताक्षी नगरपालिकाभित्र मात्रै विभिन्न चार स्थानमा अलग अलग कार्यक्रम हुने छ भने बुद्धशान्तिलगायत अन्य पालिकाहरुमा समेत कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘शिवसताक्षीको फुलबारी खेलमैदान र बुद्ध शान्तिमा कार्यक्रम सुरु भइसक्यो । अन्य स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।

कमलस्थित आदिवासी रंगशालामा भने राज्यले पूर्वशर्त अनुसार आदिवासी रंगशाला निर्माण कार्यलाई गति दिनुपर्ने मागसहित दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको फियाक बताउँछन् ।

‘बिगतमा चिहान भत्काउँदा जे सहमति हो, त्यो अनुसार राज्यले आदिवासी रंगशाला बनाउनु पर्छ । साथै, याक्थुङ (लिम्बू) लिपि, साहित्यको संरक्षणमा लागेका सिरिजंगा थेबेको योगदानलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने हाम्रो जोड हो ।’

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : १८ बजे