६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इलाम – २ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने लिङ्देनको उद्घोष



माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले इलाम क्षेत्र नं २ मा आगामी हुने उपनिर्वाचनमा पहिचानवादीले साझा उम्मेदवारी उठाउने जनाएका छन् ।

शनिबार प्रदेश न १ पुनः नामाङकन संयुक्त संघर्ष समिति महमाइको आयोजनामा माई नगरपालिकाको बिहिवारे बजारमा सम्पन्न प्रदेशको नाम कोशी खारेजी पहिचानवादी जनसभालाई सम्बोधन गर्ने क्रममा लिङ्देनले इलाम २ मा चाडै हुने उपनिर्वाचनमा पहिचानवादीहरुले साझा उम्मेदवारी दिने समेत बताएका छन्  ।

सभालाई सम्बोधन गर्दै लिङ्देनले पहिचान आन्दोलन सिंगो देशलाई पहिचानमय बनाउन कोशी, गण्डकी, बागमती नामहरुलाई खारेज गर्ने अभियान रहेको बताए ।

गाउँगाउँबाट कार्यक्रममा आएका पहिचानवादी इलामबासीलाई लिङ्देनले अब चाडै हुने उपनिर्वाचनमा सारा पहिचानवादीको तर्फबाट एउटा साझा उम्मेदवारी उठाउने  छलफल भइरहेको बताए । उनले साझा  उम्मेदवार उठाइने भएकोले आगामी हुने उपनिर्वाचनमा अमुल्य भोट दिएर जिताउन समेत अपिल गरे ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए ।

नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ ।  तर, उपनिर्वाचनको लागि सरकारले इलाम क्षेत्र न. २ मा  कहिले चुनाव गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ४१ बजे