७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रतुवा खोलाले जीप बगाउँदा २ जनाको मृत्यु



इलाम : इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।

दमकदेखि इलामको माङसेबुङ आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलामा आएको बाढीले  बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको माङसेबुङको लामिटार प्रहरी चौकीले जानकारी दिए ।

मृत्युु हुनेमा नाबालक ३ बर्षिय नियन नेम्वाङ र ताप्लेजुङ घर भई हाल सुनसरी धरान बस्ने अन्दाजी वर्ष ३० की शर्मिला वनेम रहेका छन् ।

उक्त जीपमा चालक सहित ६ जना सवार थिए । ६ जना मध्ये ४ जनाको सकुसल उद्धार भएको र एक जनाको उपचार भईरहेको प्रहरीले बताए ।

समयमै सडक नबन्दा दुर्घटना 
दमक चिसापानी ( फाल्गुनन्द मार्ग ) दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटरको पहिलो सडक खण्डको कालोपत्रे निर्माण कार्य समयमै नबनेको कारण पछिल्लो समय दुर्घटना बढेको छ ।  बर्खा लागेसंगै कालोपत्रेको लागि सुरु गरिएको सडक समयमै नबन्दा सोमबार  दमकदेखि माङसेबुङ आउदै गरेको जीप रतुवा खोलामा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

दमक चिसापानी ( फाल्गुनन्द मार्ग )मा कालोपत्रेको लागि निर्माण कार्यका लागि सडक बन्द गरिएको कारणले  रतुवा खोलैखोला जोखिम मोलेर बर्खायाममा सवारीसाधन र यात्रुहरुले यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा ठेक्का लगाएको सो मार्ग दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटरको पहिलो सडक खण्डको लागि महालक्ष्मी–किराँतेश्वर जेभीले ठेक्का पारेको हो ।

महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएको सो मार्ग पटकपटक म्याद थपिँदा पनि निर्माण कार्य सम्पन्न भएको छैन । सो सडक निर्माणकै  कारण  गत बैशाक ४ गते  इलामको माङसेबुङबाट  मोरङ घर फर्किनेक्रममा मार्चेबुङमा रहेको पुलबाट बाइक खोलामा खस्दा  मोरङ निवासी महेस रुङमाङ राईको निधन भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ११ बजे