३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नालिफुङवा पान्जुम्भोको २४ औं स्थापना दिवस सम्पन्न



माङसेबुङ/किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । पान्जुम्भोले शनिबार किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा स्थापना दिवस मनाएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेन रहनुभएको थियो ।

स्थापना दिवसमा किरात धर्ममा महत्वपूर्ण योगदान गर्ने जुझारु युवाहरु मध्ये नालिफुङवा जुझारु पुरस्कारबाट यस वर्ष किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष डिल्ली इङनाम र थुम पान्जुम्भो मोरङका सचिव लक्ष्मी जवेगुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा माङगेन्ना समिति सदस्य पूर्ण कार्कीढोली, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका बलराम खजुम, साङदाङगेन वरुमसाबा साहित्यकार इन्द्रहाङ आङदेम्बे, रेडियो माङसेबुङका स्टेसन प्रमुख सुमन लाओती, नालिफुङवा जुझारु प्रतिभावाट सम्मानित डिल्ली इङनाम लगायतले शुभकामना मन्तव्य राखेको थियो ।

किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङको अध्यक्षतामा सम्पन्न स्थापना दिवसमा उपाध्यक्ष योगेश लाओतीले स्वागत मन्तव्य राख्नु भएको थियो भने, सह सचिव लोकेन्द्र कार्कीढोलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ३० बजे