६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

साक्थिम्गेन पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन सम्पन्न, अध्यक्षमा चेम्जोङ निर्वाचित



माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनको समुद्घाटन सत्रमा किरात धर्म दर्शन र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनु हुने माङसेबुङ २ इलाम निवासी खडग सङबाङफेलाई अभिनन्दन पत्र तथा नगद राशि सहित अभिनन्दन गरिएको थियो ।

यसैगरी किरात धर्म दर्शन र संस्कार संस्कृति अनि किराती गीत संगीतलाई विश्व सामु पु¥याउन निरन्तर योगदान पु¥याउँदै आएकी पान्जुम्भोको पूर्व केन्द्रीय कलाकार मिक्लाजुङ टाँडी मोरङ निवासी गायिका सुनिता मिभकलाई सम्मान पत्र तथा नगद राशि सहित सम्मान गरिएको थियो । भने, पान्जुम्भोको केन्द्रीय कलाकार र सहयोगी कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि सम्मान स्वरुप कदरपत्र तथा धन्यबाद पत्रद्धारा सम्मान गरेको थियो ।

कार्यक्रममा पान्जुम्भो पूर्व अध्यक्ष डिबी लिङदमद्धारा प्रस्तुत किरात संस्कृति र साक्थिम्गेन पान्जुम्भोको भूमिका विषयक कार्यपत्र माथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरल र अधिवक्ता एन.एस. फागोले टिप्पणी गरेका थिए ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङ, अभिनन्दीत व्यक्तित्व खडग सङबाङफे, सम्मानित व्यक्तित्व गायिका सुनिता मिभक, अतिथिहरु माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका उपाध्यक्षहरु हर्कवीर योङहाङ, होमबहादुर लिङदेन, कमला तुम्बापो, मुक्तिहाङ साँबा, सचिव शक्तिकुमार साँबा, माङसेबुङ ५ का भाषिक सचिव सुनिल सेर्मा, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ लगायत विभिन्न संघ संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनको कार्यक्रम अन्तर्गत कार्तिक २ गते साक्मुरा वादेम्मा गरिएको थियो भने, शनिबार (३ गते) विहान किरात हाङसाम मुजोत्लुङ माङहिममा येत लाधुङ नाम्धुङ सेमी सेवा सम्पन्न गरिएको थियो । पान्जुम्भोको स्थापना दिवस विगतका वर्षझै गत असोज २५ गतेनै मनाउने तयारी गरिएको भएपनि प्रतिकूल मौसमको कारण एक हप्ता पछि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सांस्कृतिक सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस कार्यक्रम पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न गरिएको थियो । पान्जुम्भोका सचिव सुवास गुरुङले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष आइन्द्र थेगिमले राखेका थिए ।

अध्यक्षमा चेम्जोङ निर्वाचित
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुवास गुरुङ, चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ निर्वाचित भएका छन् । यस्तै सचिवमा दिलिप माखिम, सह–सचिवमा लाबुनहाङ केरुङ, तान्छोहाङ फियाक, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षमा रमला साँबा, रमेश सिगु, तान्छोहाङ नेम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी पान्जुम्भोको केन्द्रीय सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, आइन्द्र नेम्बाङ, विपना तबेबुङ, फाङदीप लाओती, शाहिल पराङदेन निर्वाचित भएका छन् ।

नव निर्वाचित कार्य समितिलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले नव निर्वाचित कार्यसमितिलाई नीति निर्देशन सहित शुभकामना दिनु भएको थियो । भने, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष ज्ञानु केदेम लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए । भने, पान्जुम्भोको नव निर्वाचित अध्यक्ष लेखनाथ चेम्जोङले प्रतिबद्धता मन्तव्य राखेको थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य पूर्णकार्की ढोलीको संयोजकत्वमा किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ, किरात साम्जीक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक रहेको तीन सदस्यीय निर्वाचन मण्डलले पान्जुम्भोको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

सातौं केन्द्रीय सम्मेलनले बन्द सत्रबाट पान्जुम्भोको मातहत निकाय तेङगप पान्जुम्भो र पाङभे पान्जुम्भोहरुबाट सहभागि प्रतिनिधिहरुको प्रतिवेदन पारित गरेको छ । पान्जुम्भोको सचिव सुवास गुरुङले पेश गरेको ३ वर्षे कार्यकालको सांगठनिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मनप्रसाद चेम्जोङले पेश गरेको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अङसीमाङ अङसीमामाङहरुको समुपस्थितीमा वहाँहरुकै निर्देशनमा वि.स. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।

किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा ५८ सालमा संगठनको नाम रुपान्तरण गरी किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको थियो । त्यसमा पुन संशोधन गरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो (किरात धर्म सांस्कृतिक केन्द्रीय समिति) नामाकरण गरिएको थियो ।
Kiratingse.com

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ४ : ३६ बजे