२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र प्रदेश १ का सबै शाखामा एकैपटक धर्ना



माङसेबुङ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, विभिन्न जातीय संगठन, राजनैतिक दल लगायत मोर्चाले ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं र प्रदेश नं. १ को सबै शाखाहरुमा सोमबार एकैपटक धर्ना कार्यक्रम गरेको छ ।

ताप्लेजुङस्थित प्रसिद्ध मुन्धुमी धार्मिक आस्थाको धरोहर मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माणकार्य अघि बढाएसँगै पुनः संघर्षका कार्यक्रमहरु शुरु भएको हो ।

विभिन्न नाराहरु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूले ग्लोबल आईएमईको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।

त्यसक्रममा केबलकार सञ्चालक ग्लोबल आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालविरुद्ध नाराबाजीसमेत गरेका छन् । उनीहरूले बलजफ्ती गरेर अघि बढेमा अझै कडा रुपमा प्रतिरोध थाल्ने चेतावनीसमेत दिएका छन् । मुक्कुमलुङ पाथीभारामा निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएर केबलकार निर्माण अघि बढाएको छ ।

ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आदिवासी लिम्बु याक्थुङहरूको पवित्र मुन्धुमी धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ । लिम्बुहरुको सांस्कृतिक अतिक्रमण गरेर त्यहाँको जल, जंगल र जमिन निजी कम्पनीलाई दिने राज्यको नीतिमाथि गम्भीर आरोप समेत लगाएका छन् । आईएलओ १६९ को अभिसन्धीले आदिवासी जनजातिहरुको थातथलोलाई त्यसरी हस्तक्षेप गर्न नहुने उल्लेख गरेका छन् ।

लिम्बु याक्थुङहरूको धार्मिक आस्थाको धरोहर मुक्कुमलङमा जथाभावी बन फँडानी भएको, त्यहाँका विभिन्न प्रजातिका बोटविरुवा र जरीबुटी जन्य रुखहरु समेत काटेर त्यस क्षेत्रको बनस्पति, बन्यजन्तुहरुको बासस्थानलाई समेत विनास गरेकोमा आवाज उठिरहेको छ ।
प्रकृतिपूजक लिम्बुूहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठिरहेको छ । त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूले तर्क गरिरहेका छन् । उनीहरूले नै सोमबार चन्द्र ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंक पनि घेरेका हुन् ।

गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केवलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन अझ बढेर गएसँगै चन्द्र ढकाल अध्यक्ष रहेको आई एम ई ग्रुप अन्तर्गत ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र प्रदेश १ अन्तर्गतका शाखाहरुमा विरोध स्वरुप धर्ना कार्यक्रम गरिएको पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले बताउनु भयो ।

यहि शनिबार ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समिति तथा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा दुवै पक्ष गरी २४ भन्दा धेरै घाइते भएका थिए । प्रहरी निरीक्षक सहित २१ जना र आन्दोलनकारी तर्फ ३ जना शक्त घाइते र अन्य थप पुष्टि नभएका ७० बर्षीय बृद्ध सहित घाइते भएको संघर्ष समितिका संयोजक श्री लिङखिमले जनाएका छन् ।

घाइते ३ जनालाई गोली लागेको हाल काठमाडौंस्थित टिचिङ अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको जनाइएको छ । प्रशासनले बल प्रयोग गरेर जबरजस्ती केवलकार निर्माण कार्य अघि बढेसँगै त्यहाँ तनाव सिर्जना भएको हो ।

यसरी नै ग्लोबल आएमइ बैंकको प्रदेश नं. १ का विभिन्न जिल्ला ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुमका शाखाहरूमा पनि संघर्ष समितिले धर्ना सहित कोणसभा कार्यक्रम गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : १० बजे