२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

दिपेन्द्र शिखर इलाम पवित्रहाङमा गोल्ड कपको सेमिफाइनलमा



 

माङसेबुङ । दिपेन्द्र शिखर फुटबल क्लब इलाम इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शनिबार) भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पान्थरलाई २–० ले पराजित गर्दै दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश गरेको हो ।

इलामको जितमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गरिन् ।

खेलको पहिलो हाफको १९ औं मिनेटमा सजिनाले गोल गर्दै सुरुवाती अग्रता दिलाइन । उनले मैदानको मध्यभागको नजिकैबाट प्रहार गरेको बलले मिक्लजुङका गोल रक्षक उषा थापालाई बिट गर्दै सिधै जाली चुमेको थियो ।

यसैगरी खेलोको दोस्रो हाफको नवौं मिनेटमा स्वस्तिकाले गोल गर्दै २–० को सहज जित दिलाइन ।

खेलको प्लेयर अफ द म्याच दिपेन्द्र शिखर इलामकी स्वस्तिका विक घोषित भईन् । उनले नगद ५ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता अन्तरगत भोलि आइतबार पथरी शनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति कप आयोजना गरिएको यो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ०२ बजे