३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

किरात धर्मगुरुआमाको ७०औं जन्मोत्सव सम्पन्न



किरात धर्मगुरुआमा महिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको ७०औं जन्मोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

जन्मोत्सव मूल समारोहको इलामको माङसेबुङ गाउँपालिका-५ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा भएको थियो। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’  तथा धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा फागुन ३ गतेदेखि ५ गतेसम्म जन्मोत्सव कार्यक्रम भएको थियो।

फागुन ३ गते बिहान १००८ दियो कलशबीचमा राखिएको महाबत्ती प्रज्वलन गरी समारोहको उद्घाटन गरिएको थियो। कार्यक्रमको उद्घाटनपछि किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोका कलाकारहरू गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो। यस्तै‚ लोकप्रिय गायिका गंगा फियाकले पालाम र साक्थिमगेन पान्जुम्भोका अध्यक्ष तथा गायक/संगीतकार लेखनाथ चेम्जोङले गीत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको बीचबीचमा केलाङका कलाकारहरुले केलाङ प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुति दिनुहुँदै गंगा फियाक

धर्मगुरुआमाको जन्मोत्सवको अवसरमा किरात याक्थुङ पापोहाङ सेर्मा सयङले धर्मगुरुआमा र धर्मगुरुलाई अभिनन्दन गरेको थियो। यस्तै‚ धर्मगुरु तथा गुरुआमाले सोही दिन ‘किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको स्मारिका २०८२’ विमोचन गर्नुभएको छ|

किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको स्मारिका २०८२’ विमोचन

किरात याक्थुङ पापोहाङ सेर्मा सयङको अभिनन्दन

अपराह्न ७० जना माङसेवासाबाले किरात साम्जीक मुन्धुम वाचन गरी धर्मगुरुआमा तथा धर्मगुरुको माङगेन्नाका साथै सावायेहाङ किरातको नोमाङगेन्ना सेवा गर्नुभएको थियो। माङगेन्ना सेवापछि नाहेनलाङसहित हर्षबढाइ गरिएको थियो।

माङगेन्ना मुन्धुम वाचन गर्दै सेवासाबाहरु

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा ‘पवित्रहाङ्मा पालाम इक्ला’ गायन प्रतियोगिता गरेको थियो। प्रतियोगिताको फाइनल ३ गते राति भएको थियो। डिजिटल माध्यमबाट छानिएका उत्कृष्ट पाँचजना प्रतिस्पर्धीहरु पार्वती लोरिङ्देन योङ्हाङ (मिक्लाजुङ–५‚ पाँचथर)‚ ऋतुराज थेगुवा (म्याङ्लुङ-५‚ तेह्रथुम)‚ संगिता योङ्हाङ (फाल्गुनन्द-४‚ पाँचथर)‚ सेमी सेर्मा (माङ्सेबुङ-५ इलाम) र कलावती सेर्मा (माङ्सेबुङ-५ इलाम)बाट विजेताले अन्तिम प्रस्तुति दिनुभएको थियो। निर्णायकहरु गंगा फियाक र सञ्चहाङ सङबाङफेले उत्कृष्ट पाँचजनाबाट पार्वती लोरिङदेन योङहाङलाई विजयी घोषणा गर्नुभएको थियो।

दही अक्षताको टीका लगाई आशीर्वाद प्रदान गर्नुहुँदै धर्मगुरु

समारोहको अन्तिम दिन फागुन ५ गते किरात धर्मगुरुले आशीर्वचन प्रदान गर्नुभएको थियो। यस्तै‚ धर्मगुरु  तथा गुरुआमाले उपस्थित भक्तजनहरुलाई दही अक्षताको टीका लगाई आशीर्वाद प्रदान गर्नुभएको थियो। यस्तै‚ सोही दिन समारोह समितिले माङगेन्ना चामल वितरण गरेको थियो।

धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको जन्म सुब्बा बीर्खधोज साँबा र कौशिला साम्सुहाङ साँबाको छोरीको रुपमा २०१३ फागुन ३ गते माङसेबुङ–६ उत्तरेमा भएको थियो। धर्मगुरु र गुरुआमाको २०३२ माई २२ गते माङसेबुङ-२‚ चुक्चीनाम्बा‚ गैरीगाउँमा देवविवाह भएको थियो।

तस्वीरहरुः योगेश लावती

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ५३ बजे