२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

दमकलाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर इलाम पवित्रहाङमा गोल्ड कपको फाइनलमा



माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो ।

टाईब्रेकरमा इलामका सजिना कोइराला, रेविका पाण्डे, सोस्तिमा विक, शिमा घले र आशिका राईले गोल गरे । यसैगरी दमकका मनिषा चौधरी, अविका लावती, रेजिता मगर र कमला श्रेष्ठले गोल गरिन् भने विपासा धिमालको प्रहार इलामका गोल रक्षक भरना नगरकोटीले विफल पारिन ।

खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङ क्लव दमक झापाका कमला श्रेष्ठ घोषित भईन । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

खेल निर्धारित समयमा एक–एक गोलको बराबरीमा सकिए पछि नतिजा टाईब्रेकरमा धकेलिएको हो । टाईब्रेकरमा इलाम भाग्यमानी सावित भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने ५६औं भिनेटमा आसिका कार्कीको गोलमा रोयल दमकले सुरुवाती अग्रता लिएको थियो । तर ६५औं मिनेटमा सजिना कोइरालाले फ्रिकिक्बाट गोल गर्दै इलामलाई बराबरीमा फर्काएकी थिइन् ।

यस अघि दुवै टोलीबाट गोल गर्ने थुप्रै अवसरहरु प्राप्त गरेपनि गोल गर्नभने सकेन । इलामकी सोस्तिमा बिकले कम्तिमा पनि छ पटक सम्म गोल गर्ने अवसर प्राप्त गरे पनि जाली चुमाउन भने सकेन् । उनका लागि दमका डिफेन्डर कमला श्रेष्ठ र गोल किपर शर्मिला मगर बाधक बनेका थिए ।

फाइनल प्रवेश गरेसँगै इलामले उापाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गरेको छ । फाइनल खेल भने फागुन २ गते हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : २९ बजे