५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

संकटमा नाःक्‌वालुङको पहिचान



  • धनबहादुर फागो

स्थानीय ज्येष्ठ नागरिकहरूले नाःक्‌वालुङ भनी उच्चारण गर्दै आए पनि सरकारी कागजातहरूमा माङसेबुङ गाउँपालिका-१ मा रहेको गाउँको नाम नाङरुङ लेखिंदै आइएको छ ।

१. प्रारम्भ

इलाम जिल्लालाई प्रशासनिक रुपमा १० स्थानीय तहमा विभाजन गरिएको छ । जसमध्ये चारवटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । ती ६ वटा गाउँपालिकामध्ये माङसेबुङ गाउँपालिका एक हो । इलामको पश्चिम–दक्षिण दिशामा रहेको माङसेबुङ १४२.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहबाट ५१.५ मिटरदेखि २०२० मिटरसम्मको उचाइमा फैलिएको यस गाउँपालिकामा चुरे र महाभारत श्रृङ्खला रहेका छन् । त्यसैले यहाँको तल्लो भेगमा गर्मी र माथिल्लो भेगमा जाडो हुन्छ ।

माङसेबुङ गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । ती वडामध्ये १ नम्बर वडामा नाःक्‌वालुङ पर्दछ । यो वडाको भौगोलिक बनावट पूर्वतर्फ फर्किएको वा पूर्वतर्फ पानीढलो रहेको छ । नाःक्‌वालुङको उत्तरमा फाकफोकथुम गाउँपालिका, पूर्वमा देउमाई नगरपालिका र उत्तर–पश्चिममा पाँचथरको मिक्लाजुङ गाउँपालिका पर्दछ । यस गाउँको नाम यहाँ रहेका दुई ठूला ढुंगाबाट रहन गएको किंवदन्ती छ ।

२. नाःक्‌वालुङ कि नाङरुङ ?

सरकारी कागजातहरूमा माङसेबुङ गाउँपालिका वडा नं. १ लाई नाङरुङ भनी चिनिन्छ । पञ्चायती व्यवस्थाका बेला नाङरुङ गाउँ पञ्चायत नै थियो । पछि २०४६ मा बहुदलीय प्रजातन्त्र व्यवस्था आएपछि यस ठाउँलाई गजुरमुखी गाउँ विकास समितिभित्र राखियो । गणतन्त्रपछि राज्य पुनःसंरचना हुँदा नाःक्‌वालुङलाई माङसेबुङ गाउँपालिकाको वडा नं. १ मा समावेश गरिएको छ ।

सरकारी कागजातहरूमा नाङरुङ उल्लेख भए तापनि यहाँका आदिवासी लिम्बूहरूले भने यस ठाउँको नाम नाःक्‌वालुङ भन्दै आएका छन् । लिम्बू बाहुल्य स्थान भएकाले यस ठाउँको नाम लिम्बू भाषामा राखिएको उनीहरूको दावीलाई नकार्ने अवस्था छैन । तर, नाःक्‌वालुङ कहिले र कसरी नाङरुङ भयो भन्ने यकिन तथ्य फेला परेको छैन । यहाँका स्थानीय, ज्येष्ठ नागरिकहरूसँगको कुराकानीमा यस ठाउँको जग्गाको नापी र नक्शाङ्कन गर्दा नाःक्‌वालुङलाई नाङरुङ बनाइएको अनुमान गर्न सकिन्छ । नापी र नक्शाङ्कन गर्न आउने सरकारी कर्मचारीहरू लिम्बू समुदायका नभएको र ती खसभाषी कर्मचारीहरूले आफूलाई उच्चारण गर्न सजिलोका लागि नाःक्‌वालुङलाई नाङरुङ बनाएको हुन सक्छ ।

नाःक्‌वालुङमा रहेको दुई बडेमानका ढुङ्गा । 

३. ऐतिहासिक आधार

हालको नाङरुङ नाम राजनीतिक तथा प्रशासनिक रुपमा स्थापित भए पनि यसको खास नाम नाःक्‌वालुङ नै हो भन्ने विभिन्न तर्कलाई अघि सार्न सकिन्छ । यस क्षेत्रका आदिवासी लिम्बूहरू हुन् । यस्तै, यहाँ लिम्बूहरूको बाहुल्य छ । त्यसैले यस क्षेत्रका अधिकांश ठाउँको नाम लिम्बू भाषामा राखिएको पाइन्छ । तर, नाःक्‌वालुङ जस्तै ती ठाउँको नाम पछिल्लो समय खसभाषाकरण गरिएको पाइन्छ । जस्तै, येदेप्पालाई एकातप्पा, लुङतेलाई लुम्दे, तगाङलाई तोभाङ, चेम्फुवाजङलाई चिबुवा नाम बनाइएको उदाहरण पाइन्छन् । यी नामहरूसँग लिम्बूहरूको ऐतिहासिकता, मुन्धुम, लोकोक्ति आदि जोडिएका छन् । तर, ती नामहरू कहिले र कसले खसभाषाकरण गरे भन्ने लेख्य प्रमाण अहिलेसम्म पाउन सकिएको छैन । यसबारे खोजी गर्दा यस ठाउँको जग्गाको नापी र नक्शाङ्कन गर्न आएका सरकारी डोरहरूले नाम खसभाषाकरण गरेका हुनसक्ने अनुमान गर्न सकिन्छ । किनकि, मालपोत कार्यालयको ढड्डामा नाःक्‌वालुङको धनीपूर्जा हेर्दा नाङरुङ उल्लेख भएको पाइन्छ‚ यो एउटा उदाहरण हो (एनबी योङहाङसँगको कुराकानीमा आधारित) ।

सरकारी कागजातहरूमा यस ठाउँको नाम नाङरुङ भए पनि यसको खास नाम नाःक्‌वालुङ नै भन्ने यहाँ चलिआएको लोकोक्ति, किंवदन्तीले दर्शाउँछ । यस ठाउँको नाम नाःक्‌वालुङ कसरी रहन गयो भन्ने किंवदन्ती यस्तो छ, ‘उहिले यस ठाउँमा बस्ती पातलो थियो । येदेप्पा (एकतप्पा)मा मात्र बाक्लो बस्ती थियो । येदेप्पाभन्दा पारि पश्चिममा रहेको डाँडामा दुई ठूला ढुङ्गा थिए । त्यहाँ जहिल्यै नाःक्‌वा (कोइरालो) उ…वाँ, उ…वाँ गरी कराउँथ्यो । नाःक्‌वाले त्यहीँ गुँड लगाउने र बच्चा कोरल्ने गर्थ्यो । जहिल्यै नाःक्‌वा बस्ने र कराउने भएकाले त्यो ढुङ्गालाई येदेप्पाबासीले नाःक्‌वालुङ भन्न थाले । पछि यसै ढुङ्गाको नामबाट गाउँको नाम नै नाःक्‌वालुङ रहन गयो’ (हर्कबहादुर योङहाङसँगको कुराकानीमा आधारित) ।

यस्तै, अर्को किंवदन्ती यस्तो छ, ‘उहिले उहिले यस डाँडोको माथिल्लो भेगमा मात्र बस्ती थियो । तल्लो भेगमा गोठहरू मात्र थिए । दुई चार जना गोठमा बस्थे रे । त्यतिबेला राति उ…वाँ उ…वाँ गरी केही कराउँथ्यो रे । गोठमा बस्नेहरूले एकापसमा लिम्बू भाषामा ‘थेन् अक्तु बे ?’ (के कराउँछ ?) भन्थे रे । अर्कोले ‘मेम्बे नाःक्‌वान अक्तारेछ । लुङ्ओ युङ रेछ’ (कोइरालो कराएको रहेछ । ढुंगामा बसेको रहेछ) भनी यो ढुंगालाई देखाउँथे अरे । नाःक्‌वा बसेको ढुङ्गालाई उनीहरूले नाःक्‌वालुङ भन्न थालेका रहेछन् । त्यही नाःक्‌वालुङबाट यो गाउँको नाम रहन गएको हो’ (दृपसिंह बुढाथोकीसँगको कुराकानीमा आधारित) ।

लिम्बू भाषामा नाःक्‌वा भन्नाले कोइरालो चरोलाई चिनिन्छ (लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश, पृ.२२६–२२७) । कोइरालो भनेको बिरालो खाने एक जातको ठूलो चरो हो (नेपाली बृहत् शब्दकोश, पृ. २४९) । माथि उल्लिखित किंवदन्ती र यस ठाउँ लिम्बू बाहुल्य रहेकाले नाङरुङको खास नाम नाःक्‌वालुङ नै हो भन्न सकिन्छ । तर, नाःक्‌वालुङलाई नाङरुङ मात्र होइन, नावालुङ पनि भन्ने गरिएको पाइएको छ । यसबाट नाःक्‌वालुङ नाम अप्रभंश भई नावालुङ हुँदै नाङरुङ भएको हो भन्ने अनुमान गर्न सकिन्छ ।

४. नाःक्‌वालुङको वर्तमान अवस्था

नाःक्‌वालुङ र यस क्षेत्रको विकास गर्ने उद्देश्यले स्थानीयले ‘नाःक्‌वालुङ बहुउद्देश्यीय विकास संस्था’ नामक संस्था स्थापना गरेका छन् । उक्त संस्था र स्थानीयवासीले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ भनी वडादेखि गाउँपालिकासम्म माग गर्दै आए पनि अहिलेसम्म सुनुवाई भएको छैन । (एनबी योङहाङसँगको कुराकानीमा आधारित) ।

यस क्षेत्रको अहिलेको अवस्था हेर्दा नेपालीमा एउटा उक्ति छ, ‘नजिकको तीर्थ हेला’, नाःक्‌वालुङको सन्दर्भमा यो उक्ति मेल खाएको पाउन सकिन्छ । गाउँको नाम नै रहन गएको त्यहाँको ऐतिहासिक ढुङ्गा रहेको स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय सरकार र स्थानीयले उल्लेख्य काम गरेका छैनन् । त्यहाँ अहिलेसम्म खानेपानीका लागि एउटा धारा, एउटा ठूलो र अर्को सानो टहरो र एउटा सार्वजनिक शौचालय मात्र निर्माण गरिएका छन् । शौचालय पनि ढुङ्गा रहेको ठाउँबाट अलि टाढा रहेकाले अपायक स्थानमा बनाइएको भनी आलोचना हुँदै आएको छ ।

नाःक्‌वालुङमा रहेको गुफा । सबै तस्बिरहरूः धनबहादुर फागो

५. पर्यटकीय क्षेत्रको सम्भावना

माङसेबुङको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको धेरै स्थानमध्ये नाःक्‌वालुङ एक हो । यस ठाउँलाई धार्मिक क्षेत्र भएको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संक्षिप्त परिचय राखिएको ‘माङसेबुङ दर्पण’ नामक पुस्तकमा उल्लेख गरिएको छ । नाःक्‌वालुङमा बाली लगाउने (उभौली) र बाली उठाउने (उधौली) याममा पूजाआजा गर्ने प्रचलन रहेको छ । बाली लगाउने बेला पानी परेन भने स्थानीयले नाःक्‌वालुङमा सेवा पूजा गर्दै आएको र यसरी पूजा गरे पानी पर्ने गरेको स्थानीयको जनविश्वास छ (माङसेबुङ दर्पण, २०८१, पृ. १२) ।

नाःक्‌वालुङ पूर्वकै चर्चित धाम गजुरमुखीधामबाट उत्तर-पश्चिम दिशामा करिब ६ किलोमिटर टाढा रहेको छ । गजुरमुखीधामको दर्शन गर्न आउने धार्मिक पर्यटकहरूलाई नजिकै रहेको नाःक्‌वालुङसम्म लान सके यहाँको पर्यटनमा टेवा पुग्दछ । (एनबी योङहाङसँगको कुराकानीमा आधारित) । नाःक्‌वालुङबाट केही किलोमिटर दूरीमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थल रहेका छन् । त्यहाँ आउने पर्यटकहरूलाई नाःक्‌वालुङसम्म आउने वातावरण बनाउन सके यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सजिलो हुन्छ । यसका लागि यहाँको सडकको स्तरोन्नति गर्न आवश्यक छ ।

नाःक्‌वालुङमा ऐतिहासिक ढुङ्गा छ । त्यस्तै, गुफा पनि रहेको छ । त्यहाँ रहेका ती ढुङ्गाको ऐतिहासिक महत्त्व र गुफाको संरक्षण गर्दै प्रचार–प्रसार गर्न सके पर्यटकलाई आकर्षण गर्न सकिन्छ । बडेमानको ढुङ्गाको वरिपरि घुम्न सिँढी लगाउन सके पर्यटकहरूलाई सजिलो हुन्छ । यस्तो संरचना निर्माणका लागि यहाँको प्राकृतिक संरचना र सौन्दर्यलाई बिग्रन भने दिनु हुँदैन । जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारि त्यसै अनुसार काम गर्नुपर्ने देखिन्छ । (भूपाल योङहाङसँगको कुराकानीमा आधारित) । साथै, यहाँ आउने पर्यटकहरूका लागि खाने बस्ने व्यवस्थाको दीर्घकालीन सोच अनुसार पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने किसिमले होमस्टेको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक छ ।

६. निष्कर्ष

नाःक्‌वालुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रका बासिन्दाहरू एकमत छन् । तर, उनीहरूमध्ये केहीले त्यस क्षेत्रमा कंक्रिटको संरचना निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् । ढुङ्गा वरिपरि सिमेन्ट प्रयोग गरेर सिढी बनाउनुपर्ने, पूजाआजा गर्ने ठाउँमा सिमेन्टले प्लाष्टर गर्नुपर्ने, छाना लगाउनुपर्ने लगायत भौतिक संरचनाको माग गरेका छन् । तर, यस्ता प्राकृतिक संरचना भएको ठाउँमा बिनाअध्ययन सिमेन्टको संरचना निर्माण गर्न त्यस क्षेत्रका लागि घातक पनि हुन सक्छ भन्ने कुरालाई मनन गर्न आवश्यक छ । त्यसैले नाःक्‌वालुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँको प्राकृतिक बनावट तथा ऐतिहासिकतालाई जोगाउँदै विकास गर्न जरुरी छ । विकास भनेकै सिमेन्ट र रडको प्रयोग गर्दै बनाइएका भौतिक संरचना हुन् भन्ने बुझाइ मात्र नराखी प्राकृतिक रुपलाई जोगाएर राख्नु पनि विकास हो भन्ने कुरा स्थानीयलाई बुझाउन जनप्रतिनिधि, स्थानीय सरकार लाग्नुपर्ने देखिन छ ।

सन्दर्भ सामग्री

माङसेबुङ गाउँपालिकामा अवस्थित प्रमुख धार्मिक स्थलहरू (२०८०), माङसेबुङ, इलाम, किरात मल्टिमिडिया प्रालि,

केदेम, ज्ञानु र अरु (२०८१), माङसेबुङ दर्पण । इलाम । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको    कार्यालय (माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रालि र किरात इङभो पान्जुम्भो) ।

चेम्जोङ, इमानसिंह (मूल सम्पादक), (२०६७), लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश, कमलादी, काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठान

पराजुली, कृष्णप्रसाद (सम्पा.), (२०५८), नेपाली बृहत् शब्दकोश, कमलादी, काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठान

माङसेबुङ गाउँपालिकाको परिचय, https://mansebungmun.gov.np/

कुराकानी

भूपाल श्रेष्ठ, माङसेबुङ-१‚ नाःक्‌वालुङका स्थानीय (वैशाख २९ गते गरेको कुराकानी)

दृपसिंह बुढाथोकी, माङसेबुङ-१‚ नाःक्‌वालुङका स्थानीय (वैशाख २९ गते गरेको कुराकानी)

भूपाल योङहाङ, माङसेबुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष (वैशाख ३० गते गरेको कुराकानी)

एनबी योङहाङ, माङसेबुङ-१‚ नाःक्‌वालुङका स्थानीय (जेठ गते गरेको कुराकानी)

हर्कबहादुर योङहाङ, माङसेबुङ-१‚ तोभाङका स्थानीय (वैशाख १२ गते गरेको कुराकानी)

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  १ : ३८ बजे