७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

महावीर पुनको व्यङ्ग्यः लारुम्बा-रबी सडकमा साहसिलो जिप ऱ्याली गरौं



राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले फाल्गुनन्द मार्गको लारुम्बा–रबी सडक खण्डमा अन्तर्राष्ट्रिय साहसिलो जीप ऱ्याली गर्न सुझाउनुभएको छ।

वीरगञ्जस्थित वीरगञ्ज कृषि ‌औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना‚ सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्दै देश दौडाहमा रहनुभएका रोमन म्यागासेसे पुरस्कार विजेता पुन असार १६ गते किरात धर्मावलम्बीहरूको केन्द्रीय माङहिम र किरात धर्मगुरू आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको निजी आश्रम रहेको लारुम्बामा पुग्नुभएको थियो। १७ गते बिहान धर्मगुरु लिङ्देनसँग दर्शनभेट र त्यस क्षेत्रमा पुस्तक बिक्री गरेर पुन दिउँसो लारुम्बाबाट पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ रबी बजार जानुभएको थियो।

यात्रामा फाल्गुनन्द मार्गको लारुम्बा-रबी खण्डको सडक जीर्ण भएको र त्यसमा चालकहरूले सकसपूर्ण तरिकाले गाडी चलाएको देखेपछि पुनले त्यस क्षेत्रमा ‘अन्तर्राष्ट्रिय साहसिलो जीप र्‌याली’ गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई व्यङ्ग्य गर्नुभएको हो। त्यस्तो प्रतियोगिता गरे त्यस सडकमा गाडी चलाउने चालकले जित निकाल्ने उहाँले बताउनुभएको छ।

‘इलामको लारुम्बा-रबी सडकमा नेपाल सरकारले चतुर व्यावसायीहरूसँग मिलेर “अन्तराष्ट्रिय साहसिलो जिप ऱ्याली प्रतियोगिता” आयोजना गऱ्यो भने विदेशी पर्यटक भित्र्याउन सकिने देखियो‚’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ‚ ‘त्यसो गऱ्यो भने सो ऱ्यालीमा नेपाली ड्राइभर भाइहरू पक्कै विजयी हुनेछन्। त्यसका लागि लारुम्बा-रबी सडक अत्यन्त उपयुक्त छ। लौत कसैले आँट गरुम्।’

हेर्नुहोस् महावीर पुनले लारुम्बा–रबी सडक खण्डमा बनाउनुभएको भिडियोः

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ४८ बजे