७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

२५ वर्षमा नालीफुङ्वा पान्जुम्भो



किरात धर्म सम्बद्ध युवाहरूको संगठन ‘किरात साम्यो नालीफुङ्वा पान्जुम्भो’को २५औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

इलामको माङसेबुङ गाउँपालिका-५ मा कार्यक्रम गरी साउन १९ गते पान्जुम्भोको स्थापना दिवस मनाइएको छ। स्थापना दिवसको अवसरमा नालीफुङ्वा पान्जुम्भोमा आवद्ध रही किरात धर्म र संगठनलाई योगदान गर्नुहुने दुई जनालाई ‘नालीफुङ्वा जुझारु पुरस्कार’ २०८२ प्रदान गरिएको छ । पुरस्कृत हुनेमा  पुरुषतर्फ किरात साम्यो नालीफुङवा माङसेबुङ पान्जुम्भोका सहसचिव तान्छोहाङ केरुङ र महिलातर्फबाट थुम पान्जुम्भो सदस्य आश्ना याम्फु रहनुभएको छ। उहाँहरुलाई जनही नगद एक हजार ५२५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

यस्तै‚ अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगितामा माङसेबुङ-५‚ माङसेबुङको फाल्गुनन्न्द बोर्डिङ  स्कुल प्रथम‚ माङसेबुङ-३‚ चतुरेको जीवनज्योति मावि द्वितीय र माङसेबुङ-५‚ भालुटारको सरस्वती मावि तृतीय भएका छन्। माङसेबुङ-३‚ खलङ्गेको दुर्गा माविलाई भने सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका पूर्वसचिव तथा नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ र पूर्वअध्यक्ष विक्रम वनेम फागो रहनुभएको थियो ।

कार्यक्रमको अतिथिहरूमा अङ्सीमाङगेन्ना सेवा समिति केन्द्रीय सदस्य सुमन लाओती, किरात साम्यो हक्चात् यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात इङ्भो पान्जुम्भो सचिव ज्ञानु केदेम, दुर्गा मावि खलङ्गेका शिक्षक जलन आङबुहाङ  रहनुभएको थियो ।

नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङको अध्यक्षतामा कार्यक्रममा उपाध्यक्ष शंकर केरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने बाइसकुमार राईले सञ्चालन गर्नुभएको थियो।

किरात धार्मिक संस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको मातहत संस्थाको रुपमा २०५८ साउन १९ गते ‘किरात साम्यो नालीफुङ्वा पान्जुम्भो’ को स्थापना भएको थियो।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  ६ : ५० बजे