- आङबुहाङ अबोध अविरल
मित्र धनबहादुर फागोको लोककथा संग्रह ‘माङसेबुङका लोककथाहरु’ हात लाग्यो । कथा संग्रहमा ‘चापेती येमा’, ‘चेम्फोजोङ’, ‘बाजवीर योङहाङ’ र ‘नाःक्वालुङ’ गरी चारवटा लोककथा समेटिका छन् ।
चापेती येमा कथामा एक महिला मुन्धुमसामाले नागको आतंकबाट मानिसलाई दिएको मुक्तिको कथा समेटिएको छ । यसमा इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ मा अवस्थित थालाचेप्पाको र माङसेबुङको ६‚ ३ र ४ वडा भएर बग्ने रतुवा खोलको उत्पत्ति कथा उल्लेख छ ।
चेम्फोजोङ कथाले चेम्जोङ थरी लिम्बूको उत्पत्ति कथा बोलेको छ । माङसेबुङ-३ मा अवस्थित हाल चिम्भुवा/चिबुवा भनेर चिनिने सो स्थानको तिब्बतसँगको सम्बन्ध कथा बहुत चाखलाग्दो छ । यसैगरी पुस्तकमा समेटिएको बाजवीर योङहाङको कथा पनि उत्तिकै चाखलाग्दो छ ।
चापेती येमा कथामा एक महिला मुन्धुमसामाले नागको आतंकबाट मानिसलाई दिएको मुक्तिको कथा समेटिएको छ ।
बाजवीरले माङसेबुङ गाउँपालिका-१ मा रहेको एक पुरानो शक्तिपीठ ‘कचबमखी’ पत्ता लगाएको कथा सबिस्तार वर्णन गरिएको छ । लिम्बू भाषाबाट उत्पत्ति भएको कचबमखी कसरी ‘गजुरमुखी’ बन्यो भन्ने पुस्तकले छर्लङ्ग पार्छ । माङसेबुङ-१ गजुरमुखीमा रहेको नाङग्रुङ गाउँको रचनागर्भ ‘नाःक्वालुङ’ कथाले खोलिदिन्छ ।
फागोको पुस्तक एकै बसाइमा पढिसकें । नसकिञ्जेल रोक्न मन लागेन । एबीसी टिभी, थाहाखबरडटकम र दक्षिण एशियामै गनिने हिमालखबर जस्ता मिडियामा सम्पादकीय जिम्मेवारी निर्वाह गरेर आर्जन गरेका भाषिक र शैलीगत कौशल फागोले पुस्तकका माध्यमबाट पाठकलाई दिएका छन् । छरितो र स्पष्ट अर्थ बोकेका वाक्य, साह्रै मीठो गरी छिमलछामल गरिएका पाठहरू र आकर्षक कभर डिजाइन मन लोभ्याउने छ । माङसेबुङ गाउँपालिकाको सहयोगमा किरात मल्टिमिडिया प्रालिको प्रकाशनमा पुस्तक आएको छ ।