१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

आत्मानन्द गोल्डकपमा कसले मार्ला बाजी?



प्रदेश नं. १ को पुरानो र निरन्तर आयोजना भइरहेको फुटबल प्रतियोगिता आत्मानन्द गोल्डकपको फाइनल मंसिर १७ गते हुँदैछ। १८औं संस्करणको प्रतियोगिताको फाइनलमा मोरङको दुई टिम पुगेका छन्।

फाइनलमा लेटाङ नगरपालिकाको लेटाङ फुटबल क्लब र पथरीशनिश्चरे नगरपालिकाको सिरिजंगा स्पोर्टिङ क्लब पुगेका छन्।

इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा जारी प्रतियोगितामा लेटाङले झापाको दमक भाङबारी स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। यस्तै‚ सिरिजंगा स्पोर्टिङ क्लबले गत वर्षको विजेता झापाको दुधे युथ क्लबलाई २-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितमा आत्मानन्द गोल्डकपको १८औं संस्करणमा आठ टिम सहभागी थिए। प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्। साथै प्रत्येक खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्ने छन्।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  ८ : ०१ बजे