भीमा खजुम ‘मुसुम’
महागुरु फाल्गुनन्दले युमारुपी भेष धारण गरेर लैङ्गिक समानताका लागि असाधारण कदम चाल्दै नारीहरूप्रति सम्मान दर्शाउनुका साथै तत्कालीन समाजमा रहेको पुरुष दबदबालाई रुपान्तरण गर्न खोजेको प्रतीत हुन्छ ।
विषय प्रवेश
याक्थुङ (लिम्बू) समुदायले मात्र नभएर लिम्बुवानमा बसोबास गर्ने अन्य समुदायले समेत आदर्श गुरुका रूपमा तत्कालीन समयमा स्विकारेका समाज सुधारक फाल्गुनन्द लिङ्देनले जीवनकालभरि विशेषतः याक्थुङ समुदायभित्रको सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक लगायतका क्षेत्रमा पुर्याउनुभएको योगदानका कारण आज उहाँ सर्वत्र महागुरु फाल्गुनन्द लिङ्देनका रूपमा चिनिनुभएको छ । नेपालमा राणा शासनको जगजगी रहेको समय वि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लाको चुक्चिनाम्बा (हाल माङसेबुङ गाउँपालिका वडा नम्बर २) गाउँमा जन्मनुभएका उहाँको युवावस्थाको केही वर्ष भुटान र भारतमा, बाँकी समय लिम्बुवानकै सेरोफेरोमा बितेको पाइन्छ ।
महागुरु फाल्गुनन्दको जीवनकालको पूरै समय निरंकुश राणाकालीन समय थियो । सो समयमा राणा र शाह वंशका अलावा कुलीन, पुरोहित्याइँ गर्ने वर्गलाई छाडेर आमनेपाली जनता शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, वाक् स्वतन्त्रता लगायतका यावत् पक्षहरूबाट वञ्चित पारिएका थिए । इलामको विकट गाउँमा जन्मेर अभावैअभावमा हुर्कनुभएका महागुरु फाल्गुनन्दले आफ्नो जीवनको उर्वर समय आध्यात्मिक चिन्तन र अहिंसाको मार्गमा व्यतित गर्नुभएको थियो । त्यस समयको सिङ्गो याक्थुङ समुदाय भने ठिक उल्टो बाटोमा थियो । याक्थुङहरू बसोबास गर्ने गाउँठाउँको हाटबजार, मेलामा वल्लो गाउँ र पल्लो गाउँबीच काटाकाट, मारामार तथा झैझगडा गर्नु सामान्य मानिन्थ्यो । अशिक्षा, गरिबी र निरंकुश शासकको चङ्गुलमा फसेर आफ्नो इतिहास, परम्परा, रीतिथिति, संस्कृति, भाषा, लिपिदेखि खाइपाइ आएको आफ्नै किपट भूमिबाट समेत याक्थुङ समुदाय वञ्चित हुँदै गएको अवस्था थियो (कपलान, २०१०: ५८–५९) । यस्तो जर्जर अवस्थामा पुगेको आफ्नो समुदायको समग्र उत्थानका लागि ब्रह्मचर्य जीवन व्यतीत गर्दै आजीवन समय खर्चिनुभएका महागुरुको वि.सं. २००५ चैत २२ गते पाँचथरको इम्बुङ छेउ हाङयकमा चोला उठ्यो (लिङ्देन, २०५६: १) । महागुरुले समाजका निम्ति पुर्याउनुभएको योगदानलाई नेपाल सरकारले वि.सं. २०६६ सालमा राष्ट्रिय विभूतिका रूपमा सम्मान गरेको छ । समाज सुधारको मार्गमा महागुरुले अवलम्बन गर्नुभएको जीवनदर्शनलाई यो लेखमा राजनीतिक, कूटनीतिक र मनोवैज्ञानिक पाटोबाट हेर्ने जमर्को गरिएको छ ।
नेपालमा जोसमनी सम्प्रदायको उदय र महागुरुमा यसको प्रभाव
महागुरु फाल्गुनन्दसँग जोडिएर आउने जोसमनी सम्प्रदाय (पन्थ)लाई नेपालमा सर्वप्रथम भित्र्याउने श्रेय सन्त शशिधरलाई जान्छ । पश्चिम नेपालको त्रिशूलगंगामा वि.सं. १८०४ मा जन्मेका उनी भारतको उडिसामा लामो समय बसी ८४ सिद्धहरूसँग बज्रयान र हठयोगी सन्त दरियासँग वैश्णव मतको अध्ययन र सत्संग गरेर नेपाल फर्केका थिए । वि.सं. १८२६–२७ सालतिर काठमाडौं आएका बखत पृथ्वीनारायण शाहले भेट गरेपछि सन्त शशिधरको मतको राम्रो प्रचार हुन थाल्यो । पृथ्वीनारायण शाह जोसमनी पन्थबाट दीक्षित नभए तापनि उनका धेरै भारदारहरू जोसमनी पन्थमा लागेका थिए । राजा रणबहादुर शाह सन्त शशिधरको सत्संगमा लागेर स्वामी निर्गुणानन्द कहलाएका थिए । यसरी राजा र भारदारहरू समेत दीक्षित हुँदै गएको मौकामा नेपालको चारैदिशामा जोसमनी मतको प्रचार गर्ने क्रमले तीव्रता पायो । यसै मेसोमा पूर्वमा जोसमनी मतको प्रचारप्रसार गर्न ब्राह्मण प्रेमदिललाई पठाइएको थियो (शर्मा, २०७७: ८–९) । शनैःशनैः जोसमनी पन्थ खम्बुवान हुँदै लिम्बुवान नाघेर सिक्किम, दार्जिलिङसम्म पुग्यो । यद्दपि, सनातन हिन्दु धर्म र जोसमनी मतबीच सो समय सधैं टकरावको स्थिति रहेको देखिन्छ ।
वि.सं. १८३१ सालपछि नेपाल एकीकरणको नाममा हिन्दुराज्यको तर्फबाट दशैं र तिहारजस्ता हिन्दु धार्मिक चाडहरूलाई राष्ट्रिय पर्व बनाइएपछि पूर्वी लिम्बुवानका याक्थुङ समुदायमा हिन्दु धार्मिक पर्वहरू र रीतिथितिहरू मान्नैपर्ने दबाव बढ्दै गयो । एकातिर परम्परादेखि नाचिआएको धाननाचमा समेत रोक लगाई लिम्बूहरूको संस्कृतिमाथि दमन गर्न शुरु गरियो भने लिम्बूहरूलाई विभिन्न जातमा विभाजन गर्ने दुस्प्रयासका साथै हिन्दुकृत हुन प्रोत्साहन गरियो (इङ्नाम, २०७७, भूमिकाको १३.५–१३.९) । राज्यले प्रमाण खोज्दा देखिने गरी हरेक साल लिम्बूहरूले मार काटेर दशैं मानेको प्रमाण स्वरूप घरको मूल ढोकाको दायाँबायाँ रगतको पञ्जाछाप र बलि चढाइएको पशुको प्रमाण (सायद मुत्र थैली) पनि झुन्ड्याउनैपर्ने चलन बस्यो । गाउँघरमा दशैं आएको जनाउ दिन नगरा बजाउने, सामूहिक भेला गराएर मार काट्ने, घरघरमा सुँगुर मारेर त्यसको फिला कोसेली बोकी टीका लगाउन सुभा, कारबारीकोमा जाने व्यापक चलन थियो, जुन वि.सं. २०४६ सालसम्म प्रायः हरेक लिम्बू गाउँमा व्याप्त थियो (पंक्तिकार आफैले सानोमा देखे, भोगेको) । योसँगै सनातन सन्त परम्पराकै एउटा मौलिक पन्थको रूपमा जातपात विरोधी, कर्मकाण्ड विरोधी (निर्गुणवाद) जोसमनी पन्थलाई वि.सं. १८३० को दशकमा लिम्बुवानमा भित्र्याइयो । सिद्धान्तका हिसाबले भोग/बलि विरोधीलाई जोसमनी पन्थ अत्यन्तै उत्तम विकल्प थियो । लिम्बुवानमा भित्रिएको एउटा नयाँ पन्थ, जो आफैमा एक क्रान्तिकारी धार्मिक–सामाजिक परिवर्तनको चेतना बोकेर प्रचारप्रसारमा आएकाले जोसमनी पन्थले समाजमा छोटो समयमा नै प्रभाव जमाउन सफल भयो ।
लिम्बुवानमा सबैभन्दा पहिले पाँचथर नाँगीका उपाध्याय ब्राह्मण श्यामदिलदासले जोसमनी पन्थको नेतृत्व गरेका थिए । पाँचथर रविमा नारायणदासले जोसमनी पन्थको प्रचार गरेपछि बहुसंख्यक राई समुदायले यो पन्थलाई ग्रहण गर्न थाले । यद्यपि, पूर्वमा जोसमनी पन्थको प्रथम जन्मभूमि भोजपुर रहेको र वि.सं. १८२५ तिर नै राई समुदायका मेवाकर्ण राई जोसमनी पन्थमा दीक्षित भएर अगमदिलदास बनेका थिए । उनले सो समयमा राई कुलमा जोसमनी मत भित्र्याएर ठूलो क्रान्ति ल्याएका थिए (प्रपन्नाचार्य, २०६२: ३१४) । उनको प्रभावमा परेर लिम्बुवानको पाँचथर र इलामका बहुसंख्यक राईहरूले जोसमनी पन्थ ग्रहण गरेका थिए (शर्मा, उहीः १३) । संख्यात्मक हिसाबमा राई समुदायभन्दा कम मात्रामा याक्थुङहरूमा जोसमनी मतको प्रभाव परेको देखिन्छ । अन्य जिल्लाको तुलनामा पाँचथरका याक्थुङहरूमा जोसमनी पन्थको प्रभाव बढी परेको पाइन्छ । वि.सं. १९८८ सालमा लब्रेकुटीमा लिम्बुवानको १७ थुमका याक्थुङहरूको बृहत् चुम्लुङमा उपस्थिति जनाउने लिम्बूहरूमध्ये चोकमागुतिरका केही लिम्बूहरूको नामअगाडि साधु लेखिएको छ (थेगिम, २०६९: ४७२) । सो समयमा पाँचथर, इलामतिर जोसमनी पन्थको प्रभाव बढ्दै गएको र महागुरु फाल्गुनन्द याक्थुङहरूको रीतिथिति सुधार गर्ने क्रममै रहेकाले यसमा जनित लिम्बू साधुहरू जोसमनी साधु रहेको प्रसस्त आधार मिल्दछ ।
समुदायमा जोसमनी पन्थ एउटा सामाजिक–क्रान्तिकारी वैचारिक धारको रूपमा स्थापित हुँदै गएको समय महागुरु फाल्गुनन्द जन्मनुभएको थियो । जन्म, विवाह र मृत्यु संस्कारदेखि सामान्य मेलापातसम्म मासुमंस र जाँडरक्सीको अत्यधिक प्रयोग हुने याक्थुङ समाजमा जन्मेर पनि सानैदेखि सात्त्विक जीवनशैली अपनाउने महागुरु फाल्गुनन्दको जीवनशैली परिवारका लागि समेत बोझको विषय थियो । यस्तो विषम परिस्थितिमा जोसमनी पन्थले अवलम्बन गरेको सात्त्विक खानपान र जीवनशैलीको तौरतरिका आफू अनुकूल रहेको महसुस हुनु र जोसमनी पन्थबाट दीक्षित हुनु महागुरु फाल्गुनन्दका लागि रहर र बाध्यता दुवै रहेको भान हुन्छ । जोसमनी पन्थबाट महागुरुको ‘फाल्गुनन्द’ नाम सन्त शशिधरले राखिदिएको उल्लखे पाइन्छ (लिङ्देन, उहीः १) । तर, सन्त शशिधर काठमाडौंदेखि पूर्व आएको प्रमाण छैन । उनको समय वि.सं. १८०४–१९०६ रहेको छ (शर्मा, २०५२, पृ. १३) । त्यसैले महागुरुलाई दीक्षित गराई नाम राखिदिने उनै शशिधर भने हुन नसक्ने बरु सन्त श्रीपञ्चानन्द वा सन्त मधुनन्द हुन सक्ने तर यसको पनि पुष्टि भने भएको देखिन्न (प्रपन्नाचार्य, २०५४: ४) । स्थिति, परिस्थिति जे जस्तो भएपनि महागुरुको जोसमनी पन्थसँगको सम्बन्ध भने निर्विवाद देखिन्छ ।

पाँचथरको सिलौतीस्थित महागुरु फाल्गुनन्दको शालिक। तस्वीरः किरात समाचार
महागुरु फाल्गुनन्दले झेल्नुभएको नेपालको विषम समय
महागुरु फाल्गुनन्द जन्मनुभएको समयमा नेपालमा राणा प्रधानमन्त्री रणोद्दीपसिंह थिए । रणोद्दीपसिंहका दाजु जंगबहादुर राणा जोसमनी पन्थका विरोधी भएकाले कतिलाई मृत्युदण्ड, कारावास र डाँडा कटाए तापनि उनको मृत्युपछि प्रधानमन्त्री बनेका रणोद्दीपसिंह भने जोसमनी सन्त परम्परामा दीक्षित भएका थिए (भण्डारी, सन् २०१८) । रणोद्दीपसिंह राणाको यही धार्मिक प्रवृत्ति र जालझेल नगर्ने पक्षलाई उनका १७ भाइभतिजाले सधैं कमजोरीको कसीमा राखेर हेरे । रगतको होली खेलेरै सत्ता हत्याउन बानी परेका राणा भाइभारदारहरूबीच वि.सं. १९४२ मंसिर ९ गते बहालवाला प्रधानमन्त्री रणोद्दीपसिंह राणाको हत्या पनि सामान्यतया पाच्य नै थियो (आचार्य, २०७५: २८९) । यसपछि देशको शासनसत्ता सम्हाल्ने वीरशमशेर, देवशमशेर, चन्द्रशमशेरदेखि मोहनशमशेर जस्ता राणा शासकहरूको पालामा आवश्यकतालाई मध्यनजर गरेर केही उदार नीति अवलम्बन गरे तापनि सर्वसाधारण जनताका लागि शिक्षा, वाक् स्वतन्त्रता, भौतिक विकासजस्ता अत्यावश्यक पक्षहरू आकाशको फलजस्तै थिए ।
वि.सं. १९७७ सालतिर छिमेकी देश भारतमा महात्मा गान्धीले शुरु गरेको सत्याग्रह र भद्रअवज्ञा आन्दोलनको प्रभाव नेपालतिर पनि पर्न थालेको थियो । यसबाट त्राहिमाम् बनेका चन्द्रशमशेर राणाले ना.सु. कृष्णलाल अधिकारीलाई ‘मकैको खेती’ पुस्तक लेखेबापत नौ वर्ष जेलमा कोचिदिए (पाँडे, २०७६, भाग १: १२) । सो घटनाले सर्वसाधारणमा केही नयाँ सिर्जना गर्ने आँटको अवसान गराइदियो । तथापि, धार्मिक गतिविधिका माध्यमबाट र नेपालबाहिर बस्ने नेपालीहरूबाट जनजागरण ल्याउने खालका छिटपुट काम भने भएको पाइन्छ । सो समयमा राई, मगर, गुरुङ तथा याक्थुङ समुदायका धेरै गण्यमान्यहरूले परिवर्तनका नाममा जोसमनी पन्थलाई पछ्याएका थिए । यसले अलिकति भए पनि समाजमा चेतनाको विकास गरेको देखिन्छ । धार्मिक चेतनाले मानिसलाई आध्यात्मिक मार्गतिर डोर्याउँछ । आध्यात्मिक चिन्तनले नै मानिसलाई ज्ञानको बोध गराउँदछ भन्ने कुरा जोसमनी सन्तहरूको भजनबाट पनि प्रष्ट हुन्छ (शर्मा, २०७७: २७२–३०२) ।
निश्चय नै महागुरू फाल्गुनन्दलाई आफ्नो बाल्यावस्था र युवावस्थामा घटित आध्यात्मिक चेतनाबोधलाई छर्लङ्ग बुझ्नका लागि जोसमनी सन्तहरूको संगत फलदायी रहेको मान्न सकिन्छ । यही आध्यात्मिक ज्ञानचक्षुको बलले नै महागुरुलाई राणाकालीन राज्य व्यवस्थाले आफ्नो जाति समुदायलाई मातृभाषा, लिपि, इतिहास, संस्कृति र पहिचान नै बिर्सने गरी थिचोमिचो गरेको कुराको बोध भएको हुनुपर्छ । जनताप्रति अनुदार शासकहरूको जगजगी रहेको सो समयमा एकै ठाउँ भेला भएर छलफलमा जुट्नु पनि अपराध गरे सरह थियो । यस्तो अप्ठ्यारो समयमा समाज सुधारको कार्यमा तल्लीन रहेकै कारण राज्यबाट वि.सं. १९९० र १९९५ गरी दुईपटक देशद्रोही र राजद्रोहीको अभियोगमा महागुरुलाई फासी वा आजीवन कारावासको कुचेष्टा गरियो । पूर्वमा परापूर्वकालदेखिको रीतिथिति मास्न खोज्ने राजा हुँ भन्ने निस्केको छ भन्ने अफवाह फैलाएर वि.सं. १९९५ सालमा २१ जना ब्राह्मणको टोली नै सुराकीका लागि खटाइयो (मेन्याङ्बो, २०५६: १४) । उनीहरूको टोलीले महागुरुलाई राजा त्रिभुवन र राणा कमाण्डरहरू सामु उभ्याए पनि आखिरमा निर्दोष सावित भएका हुनुभएको थियो । वि.सं. १९९७ सालमा राणा शासन व्यवस्थाको विरुद्ध कदम उठाएको निहुँमा दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई निर्ममतापूर्ण झुण्ड्याएर र गोली हानेर मारिएको थियो (पाँडे, उही, भाग १) । यसरी जनतालाई खुलेआम मार्न र आफ्नै भाइबन्धुलाई समेत जेलनेल, हत्या र मृत्युदण्डसम्मको सजाय दिन पछि नपर्ने राणा शासकहरूको सामु महागुरु निर्दोष सावित हुनुले उहाँको कुशल राजनीतिक र कूटनीतिक वाक् पटुताको संकेत मिल्दछ ।
महागुरुले धारण गर्नुभएको भेषभूषाको मनोवैज्ञानिक दृष्टिकोण
याक्थुङ समुदायमा निहित मुन्धुममा नारीरूपी युमाको स्थान सर्वोपरी रहेको छ । युमालाई सृष्टि र प्रकृतिको जननीका रूपमा जीवनशक्ति प्रदान गर्ने सर्वव्यापक र सर्वशक्तिमान आराध्यदेवीका रूपमा पुज्ने गरिएको छ । सृष्टिको सुरुवातमा आदिम माताका रूपमा व्याख्या गरिएकी मुजिङ्ना खेयोङ्ना र व्यवस्थित जन्म, मृत्यु संस्कारको स्थापना गराउने खाप्पुना मुरङ्नालाई सम्पूर्ण जीवन संस्कार सिकाउने पनि युमा नै हुन् (खजुम, २०७१: ५३७–५३८) । यी दुई आदिम माताका अलावा मुन्धुममा व्याख्या गरिएका जति पनि मुन्धुमी पात्रहरू (नारी वा पुरुष) छन्, कुनै न कुनै बेला ज्ञान प्राप्ति, समस्या समाधानका लागि युमालाई पुकारेको पाइन्छ । तागेरा निङ्वाभूमाङलाई निङ्वाफुमाको रूपमा नारी स्वरूपमा पनि व्याख्या गरिएको देखिन्छ । याक्थुङ महिलाहरूको तान बुन्ने सीपको पहिलो गुरुका रूपमा ‘थाक्पेदाङ्मा, खिबेदाङ्मा’ भनी युमालाई सम्बोधन गरिन्छ (काइँला, २०४७: XII) । अदृश्य शक्तिका रूपमा पुकारिने युमाले समय–समयमा मानव देह धारण गरेर तान बुनेको मुन्धुमी कथाहरू र तीसँग सम्बन्धित पुरातात्त्विक स्थानहरू आज पनि ताप्लेजुङ, तेह्रथुम, पाँचथर र धनकुटामा रहेका छन् । आजको आध्यात्मिक समाजमा पनि युमाले मानव शरीरमा प्रवेश गर्ने विश्वास गरिन्छ । जसलाई युमारे थुक्तुबा/माका रूपमा स्विकारिएको छ । महागुरु फाल्गुनन्दलाई पनि युमाको नरदेहधारिणी रूप मानेर भक्ति गर्ने गरिएको छ ।
युमाको आध्यात्मिक पाटोको आफ्नै महत्त्व छ भने महागुरुले धारण गर्नुभएको युमारुपी भेषभूषाको पनि आफ्नै विशेषता रहेको छ । अध्यात्मको चश्माबाट बाहिर निस्केर विश्लेषण गर्ने हो भने यसभित्र थुप्रै पाटा भेटिन्छन् जसभित्र गहिरो सांस्कृतिक क्रान्ति त छ नै यसका अलावा पुरुष र प्रकृतिलाई समान तरिकाले हेर्ने सांकेतिक दृष्टिकोणको समिश्रण महागुरुले धारण गर्नुभएको भेषभूषा र जीवनशैलीमा पाइन्छ । सामान्य भाषामा यसलाई लैङ्गिक समानताका लागि चालिएको असाधारण कदम र नारीहरूप्रतिको सम्मान पनि मान्न सकिन्छ । महागुरुले युमारुपी भेष धारण गरेर तत्कालीन समाजमा रहेको पुरुष दबदबालाई रुपान्तरण गर्न खोजेको प्रतीत हुन्छ ।
जन्मेर युवास्थासम्म सामान्य पुरुषकै भेषभूषामा रहनुभएका महागुरु फाल्गुनन्दले वि.सं. १९६४ पछिका आठ वर्षसम्म भारतमा सैनिक जीवन बिताएपछि भुटान हुँदै भारतका विभिन्न देवस्थलहरूको भ्रमण र चारधाम तीर्थयात्रा गर्नुभई वि.सं. १९७८ मा जन्मथलो फर्कनुभयो (जबेगु, २०७१: ४२१–४२३) । सानो उमेरमा प्राप्त आध्यात्मिक ज्ञान युवावस्थामा पुगेपछि साधुसन्तहरूको संगतले अझ निखारियो । त्यसलाई आफ्नो समुदायको हितका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा उहाँको चिन्तन बढेको देखिन्छ । सो समयको तत्कालीन परिवेशमा पुरुष भेषमा रहेर रुढिवादी समाजलाई सुधारको मार्गमा ल्याउन खोज्दा आफ्नै जाति, समुदाय र राज्यबाट आइलाग्ने अवान्छित भौतिक आक्रमणको समेत उहाँले राम्रो आँकलन गर्नुभएको प्रतीत हुन्छ । सो विषम परिस्थितिलाई आफ्नो अनुकूल ढाल्न महागुरु फाल्गुनन्दले सर्वप्रथम आफैबाट परिवर्तनको शुरुवात गर्नुभएको थियो ।
जीवनको पछिल्लो समयसम्म युमाको भेष धारण गर्नुभएका महागुरु फाल्गुनन्दले तत्कालीन समाजमा रहेको युमाप्रतिको श्रद्धाको मिहिन अध्ययन गर्नुभएको मात्र नभएर युमाको मुन्धुमी महत्त्वप्रतिको समाजको मनोविज्ञानलाई राम्ररी आत्मसात् गर्नुभएको देखिन्छ । आफू र आफ्ना चेलाहरूलाई हुन सक्ने भौतिक क्षतिलाई कम गर्न यो दूरदर्शीपूर्ण कदम रहेको थियो भन्दा अत्युक्ति नहोला । यस प्रकार शिरमा सुनको शिरबन्दी, सुनको फूल, कानमा चेप्टे सुन, हातमा चाँदीका चुरा, पाउमा चाँदीका कल्ली, सेतो भोटो र मेख्ली महागुरुको बाहिरी स्वरूपलाई चिन्ने पहिचान बन्न पुग्यो (गुरुङ र दाहाल, २०४६: १३) । यही भेषभूषामा लिम्बुवानका कुनाकुनामा घुमी लामो समयको अनवरत प्रयासबाट वि.सं. १९८८ वैशाख २४ गते तत्कालीन समयका थुमथुमका गण्यमान्य याक्थुङहरूलाई पाँचथरको चोकमागु, लब्रेमा भेला पारी तयार पारिएको ‘सात बुँदे सत्यधर्म मुचुल्का’ निरंकुश राणाकालमा गरिएको महागुरु फाल्गुनन्दको क्रान्तिकारी दुस्साहस सावित भएको छ ।

पाँचथरको सिलौतीस्थित महागुरु फाल्गुनन्दको समाधिस्थल। तस्वीरः किरात समाचार
आखिरीमा,
जोसमनी सन्त परम्पराबाट कुनै समय महागुरु दीक्षित भएको कुराले सधैं चर्चा पाउने गर्दछ । महागुरु फाल्गुनन्दको विचार र दर्शन जोसमनी पन्थकै एक हाँगो हो भन्ने विवाद उप्काएर याक्थुङ समुदायमा सुधारसहितको धर्मदर्शनको थिति बसालेको पक्षलाई ओझेलमा पार्न केही पक्षहरू हरदम उद्वेलित छन् । निश्चय नै हाम्रो मानव जीवन सामाजिक जालोमा यसरी बेरिएको छ कि यसबाट निस्केर बेग्लै पहिचान बनाउनु आफैमा चुनौतिपूर्ण कुरा हो । भनिन्छ, विश्वमा नजिकको रगतको नाता नभए पनि झण्डै सातजनाको अनुहार र हाउभाउमा समानता भेटिन्छ । कुनै नाता सम्बन्ध नै नभएका मानिसबीच त कताकता के के मिल्न खोज्छ भने यहाँ त साँझरात संगत गर्ने क्रममा साटासाट हुने विचार र जीवन दर्शनको कुरा छ । केही नगन्य मात्रामा दुई खालको मत, विचार वा सिद्धान्तबीच मेल खाएजस्तो देख्दैमा एकै घानमा राखेर वैचारिक आगो सल्काउनुअघि त्यसभित्र रहेको बेमेलको मात्रालाई पनि जाँच्न र पर्गेल्न जरुरी छ ।
महागुरु फाल्गुनन्द हिन्दु सनातनकै एक हाँगाको रूपमा विकसित जोसमनी सन्त परम्पराबाट दीक्षित भएर पनि उहाँ त्यसमै अल्झिरहनुभएन । जोसमनी मतमा रहेका राम्रा पक्षलाई आत्मसात् गर्दै तत्कालीन समाजमा रहेको विकृतिको पहिचान गर्नतिर तल्लीन उहाँको जीवनको मूल उद्देश्य याक्थुङ समाजमा अलग्गै धारको धार्मिक–सामाजिक परिवर्तन ल्याउन रहेको देखिन्छ । यदि प्रभाव र अनुशरणकै कुरा गर्ने हो आज धर्म निरपेक्ष र मौलिक स्वतन्त्रताको भरपुर उपयोग गर्न सकिने जमानाका हामी अन्यको धर्म, सिद्धान्त र दर्शनको अलिकति पनि प्रभावमा नपरी बाँचेका होलौं त ? यो प्रश्न एकफेर आफैतिर तेस्र्याएर हेरौं । महागुरुप्रति आलापविलाययुक्त धारणा बनाउन जति सजिलो छ, उहाँको जीवनदर्शनलाई बुझ्न उत्तिकै गाह्रो पनि छ । अन्त्यमा, याक्थुङ, किरात लगायत भाषा र लिपिका नाममा पहिचानको खेती गर्न तम्सिने विद्वत् वर्गलाई सुनेको भरमा नपरी केवल एकपटक किरात सिरिजङ्गा लिपिमा लिखित महागुरु फाल्गुनन्द लिङ्देनको ‘माङसिवाखाहुन्’ पढेर सही अर्थ पनि खोज्न विनम्र अनुरोध छ ।
सन्दर्भ सामाग्रीहरू
आचार्य, बाबुराम (वि.सं. २०७५) । अब यस्तो कहिल्यै नहोस् । काठमाडौंः फाइनप्रिन्ट ।
कपलान, लिओनल (सन् २०१०), अनु. राजेन्द्र सुब्बा । पूर्वी नेपालमा लिम्बू जातिको किपट र सामाजिक फेरबदल । काठमाडौंः जनजाति तथा वैकल्पिक अध्ययन केन्द्र ।
काइँला, वैरागी (वि.सं. २०४७) । महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा भजनमाला । धरानः अनरेरी क्याप्टन ताङहाङ लिम्बु ।
खजुम, भीमा ‘मुसुम’ (वि.सं. २०७१) । किरात धर्ममा नारीहरूको स्थान र भुमिकाः संक्षिप्त विवेचना । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ ।
जबेगु, दिलिप (वि.सं. २०७१) । मुहिङगुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देनको संक्षिप्त जीवनी । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ ।
थेगिम, डकेन्द्रसिंह (वि.सं. २०७१) । सत्यधर्म मुचुल्काः किरात समाज सुधारको लिखित दस्तावेज । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ ।
गुरुङ, हेम बहादुर र कुलानन्द दाहाल (वि.सं. २०४६) । तपस्वी फाल्गुनन्दको जीवनी ।
पाँडे, सरदार भीमबहादुर (वि.सं. २०७६, पाँ.सं.) । त्यस बखतको नेपाल, भाग १ । काठमाडौंः फिनिक्स बुक्स ।
प्रपन्नाचार्य डा. स्वामी, (वि.सं. २०५४) । महागुरु फाल्गुनन्द सरस्वती सत्यहाङ्माको विश्लेषणात्मक जीवनी । कुपन्डोलः लुइँटेल–प्रसाइँ प्रकाशन ।
प्रपन्नाचार्य डा. स्वामी, (वि.सं. २०६२) । मिल्केका झिल्का । पाँचथरः किरातेश्वर प्रकाशन ।
भण्डारी, शशिधर (वि.सं. २०७२) । जोसमनी सन्त परम्परा र खस आर्य संस्कृति । हाँक विक्ली, वर्ष ३३, अंक ५ ।
मेन्याङ्बो, तेजबहादुर (वि.सं. २०५६) । प्रत्यक्षदर्शीको नजरमा महागुरु फाल्गुनन्द । मुहिगुम अङ्सी फाल्गुनन्द । विशेषांक ।
लिङ्देन, नबिन (वि.सं. २०५६) । मुहिगुम अङ्सी फाल्गुनन्द लिङ्देन संक्षिप्तमा । मुहिगुम अङ्सी फाल्गुनन्द । विशेषांक ।
शर्मा, जनकलाल (वि.सं. २०७७) । जोसमनी सन्तपरम्परा र साहित्य । काठमाडौंः अजम्बरी पब्लिकेशन ।
(यो लेख किरात समाचारको ‘मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती विशेषाङ्क २०८२ कात्तिक २५’ मा प्रकाशित छ।)


