इलामको माङसेबुङ गाउँपालिका–५‚ माङसेबुङमा किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे प्रशिक्षण सम्पन्न भएको छ ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले आयोजना गरेको तीन दिने प्रशिक्षणको उद्धघाटन मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनबाट भएको थियो ।

पुस १६ देखि १८ गतेसम्म सञ्चालन भएको प्रशिक्षणमा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ माङसेवासाबा र सेवासामा र १०८ शाखा माङहिम सञ्चालक समितिका पदाधिकारीहरू सहभागी थिए। कार्यक्रममा नेपाल भुटान, भारत, अमेरिका, हङकङ लगायत एक हजार २०० प्रशिक्षार्थीहरूको सहभागिता रहेका आयोजक समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो दिन कर्मकाण्डमा जन्म सुतकबारे नन्दकुमार सेर्मा र सन्चहाङ सङबाङफेले प्रशिक्षण दिनुभएको थियो। दोस्रो दिन विवाह कर्म र मृत्यु सुतकबारे इन्द्रहाङ आङदेम्बे र ललितचन्द्र फियाकले प्रशिक्षण दिनुभएको थियो। यस्तै‚ सोही दिन यादवचन्द्र फुरुम्बोले आचारसंहिताबारे, चन्द्रकुमार सेर्माले किरात दर्शन तथा ज्योतिष, माङसेवासाबा प्रमुख तेजबहादुर थलङले कर्मकाण्डबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको तेस्रो दिन किरात धर्मको कर्मकाण्डलाई एकरुपता ल्याउनका लागि किरात साम्जीक मुन्धुम, खाजोङथिम नामक पुस्तक वितरण गर्दै कार्यक्रमको समापन भएको थियो ।

तस्वीरहरूः योगेश लाओती


