४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

प्रहरीमाथि आक्रमण गर्ने लुटेरा समूह पक्राउ


५ माघ २०७८, बुधबार  

0
Shares

धनुषा : लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। बटेश्वर गाउँपालिका –४ राम्रो चोकमा लुटपाट भइरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी चौकी बटेश्वरको टोलीलाई लुटेरा समूहले मंगलबार राति आक्रमण गरेको थियो।

 

 

लुटेरा समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक मनोज पोखरेल घाइते भएका छन्। पोखरलेको टाउकोमा १२ टाका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका चन्द्र यादव, राजजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रविदासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। महोत्तरीको भंगाहा नगरपालिका–७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किंदै गर्दा लुटेरा समूहले उनीसँग भएको नगद ४५ हजार रूपैयाँ, लत्ताकपडा, मोबाइल सेटसहितका सामान लुटपाट गरिरहेको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक पोखरेलसहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेको थियो।

यसपछि उक्त समूहले उनीमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ४५ बजे