काठमाडौं : स्थानीय तहको निर्वाचनबारे भएको अलमलबारे पाँच दलीय सत्ता गठबन्धनले कानुनविद्सँग छलफल सुरु गरेको छ।
शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिले निर्वाचनबारे अन्योल हटाउन कानुनविद्हरूसँग छलफल गर्ने निर्णय गरेपछि अहिले छलफल जारी छ।
पाँच दलीय सत्ता गठबन्धनमा तीनै तहको निर्वाचन एकैपटक गर्न पर्ने संवैधानिक र कानुनी अड्चनबारे छलफल थालेको छ। निर्वाचनबारे गठबन्धनकै दलहरू एकमत हुन सकेका छैनन्।
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी छन्।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीको पदावधिसँगै प्रदेश र संघीय संसदको निर्वाचन एकैसाथ गर्ने वा फरकफरक मितिमा गर्ने भन्ने राजनीतिक र कानूनी अन्योल भएको भन्दै सरकारमा सहभागी दल र प्रतिपक्षी एमाले बिच मत भिन्नता रहदै आएको छ।