४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

हङकङमा कोरोना संक्रमणले त्रस्तः शव राख्ने ठाउँको अभाव



एजेन्सी/हङकङ : हङकङमा कोरोना भाइरस संक्रमण दरले तनाव बढाएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टका कारण हङकङले पाँचौं लहरको सामना गरिरहेको छ।

बुधबार यहाँ ५५ हजार जना संक्रमित भएका छन्। गत २४ घण्टामा ११६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्। यस्तो अवस्थामा स्वास्थ्य प्रशासनले फेरि लकडाउन गर्ने विकल्पमा पनि विचार गरिरहेको जानकारी दिएको छ।

हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले भनिन्‚ ‘सरकारले जनताको आवागमन रोक्न लकडाउन गर्ने छलफल गरिरहेको छ।’

कोरोनाबाट ज्यान गुमाएका धेरैको शव राख्नका लागि ठाउँ नै कम छ। यसबाहेक दर्जनौं लास शवगृहमा लैजान पालोमा राखिएको छ। हङकङका पब्लिक डाक्टर एसोसिएसनका प्रमुख तोनी लिङका अनुसार शव राख्नका लागि ठाउँको अभाव हुनुका साथै लास बोक्ने मान्छे कम छन्, त्यसैले समय लाग्नेछ।

शहरको सेन्टर फर हेल्थ प्रोटेक्सनका प्रमुख चिकित्सा र स्वास्थ्य अधिकारी अल्बर्ट एउले संक्रमित प्रत्येक तीन दिनमा दोब्बर हुँदै गएको पुष्टि गरेका छन्। संख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए।

हङकङमा एक साताअघिको तुलनामा कोरोना संक्रमितको संख्या चार गुणा बढी भएको छ। एक साताअघि मात्रै ७५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले दैनिक संक्रमितको संख्या ३० हजार नाघेको छ ।

सन् २०२० मा महामारी शुरु भएयता अहिलेसम्म ६०० भन्दा बढीको ज्यान गएको छ। यहाँ कोरोनाको खोप नलगाएका वृद्धवृद्धाको संख्या धेरै छ। कतिपयले भने साइड इफेक्टका कारण खोप लिएका थिएनन्।

अष्ट्रेलियाका प्रधानमन्त्री संक्रमित
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको जानकारी दिएका हुन्।  उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएको उनको आधिकारिक वेबसाइटमा मंगलबार उल्लेख गरिएको छ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि कोभिड १९ परीक्षण गराएको र मंगलबारको परीक्षणमा कोभिड देखिएको मरिसनले बताएको वेबसाइटमा राखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : २१ बजे