७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्थानिय तह निर्वाचन मतदाता नामावलीमा दाबी बिरोध आह्वान



काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ ।

नेपालभर ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।आयोगले तोकेका अधिकारीहरूले ती उजुरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समय सीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनउपर आयोगले जाँचबुझ गरिरहेको आयोगका प्रवक्ता पौडेलले बताए । आयोगले तोकेको ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएका थिए ।

हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको आयोगले जनाएको छ । छानबिन फागुन २३ गतेभित्र टुङ्ग्याउने आयोगको कार्यपालिका छ । त्यसपछि प्रक्रिया पुर्‍याएका दलहरूको नामावली राजपत्रमा प्रकाशित हुने र राजपत्रमा प्रकाशित भएका दलहरूले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : २८ बजे