एजेन्सी : संयुक्त राष्ट्रसंघले युक्रेनमाथिको रूसी आक्रमण रोक्न र सैनिक फिर्ता गर्न भनेको छ ।
बुधबार राति संयुक्त राष्ट्रसंघको महासभाले रूससँग यस्तो माग गर्दै आक्रमणको भत्र्सनासहित प्रस्ताव पारित गरेको हो ।
रुसी आक्रमणको विरोधमा राष्ट्र संघका १ सय ४१ मुलुकले मतदान गरेका बताइएको छ । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो ।
नेपालले सार्वजनिक रूपमै युक्रेनको पक्षमा उभ्याएको यो चौंथो पटक हो । यसअघि रूसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो ।
बुधबार रातिको मतदानमा चीन र भारतलगायत अन्य ३५ मुलुक अनुपस्थित रहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
रूसका पक्षमा भने उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले मत दिएका बताइएको छ । गत बिहीबार रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।