४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

प्रदेश १ को नाम कोशी किरात : मुख्यमन्त्री राई



किरात समाचार:  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री राईले कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किराँत राख्न बहुसंख्यकको सुझाव थियो ।

कोशी भन्ने त दुई चार मत मात्रै थियो । कोशी भन्दा त सगरमाथा भन्नेहरू धेरै छन् ।’ यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम कोशी हुनुपर्ने सुझाव दिएका थिए । मुख्यमन्त्री राईको यो भनाईले अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत मिलेको छ ।

राईले तत्कालीन एमालेको निर्णय तथा नेकपा हुँदाको संसदीय दलमा कोशी–किरात राख्नुपर्छ भन्नेको बहुमत रहेको स्मरण गर्दै राईले त्यही निर्णय आफ्नो पार्टीको लाइन भएको बताए । राईले आफ्नो पार्टीको निर्णय र लाइन पनि विगतको एमालेले गरेको निर्णयको आधारमा भएको भन्दै तत्कालीन एमालेले कोशी–किरात हुनुपर्छ भन्ने विषयमा निर्णय गरेको दाबी गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ४७ बजे