७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्धारा अनुगमन



विराटनगर:  अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिकाको परिवारलाई आज भेट गरि घटनाका विषयमा जानकारी लिएको छ ।

गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।

घटनाको विषयमा जानकारी लिएपछि आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारलाई इन्सेक, माइती नेपाल र आफन्त नेपालले १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल र आफन्त नेपाल लगायतका सामाजिक संस्थाले घटनाका विषयमा प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रिया र पीडित पक्षले गरिरहेको आन्दोलनका विषयमा जानकारी लिएको छ ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न पहल गरीदिन अधिकारकर्मीसँग आग्रह गरेको छ । पीडित परिवारसँगको भेटमा अधिकारकर्मीले घटनाका विषयमा मिलापत्रका लागि कोही कसैले दबाब दिएको वा प्रभाव पारेको नपारेको विषयमा जानकारी लिएको छ ।

अधिकारकर्मीले टोलीले पीडित परिवारलाई आर्थिकसहित खाद्यान्न समेत सहयोग गरेको छ । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २८ गते गिरफ्तार गरी फागुन २९ गते सार्वजनिक गरिसकेको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ०८ बजे