६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

२९ मतदानस्थललाई इलाममा अति संवेदनशील



इलाम : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका २९ वटा मतदानस्थललाई अति संवेदनशील रुपमा राखेको छ। यस्तै, ५९ वटा मतदानस्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताएका छन् ।

सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान स्थलको अवस्था विश्लेषण गरेर अति संवेदनशील, संवेदनशील र सामान्यमा छुट्याइएको बताइएको छ। ‘
कतिपय नजिक र सुविधा सम्पन्न स्थानहरुमै रहेका मतदानस्थल पनि अति संवेदनशीलमा परेका छन्, कति टाढा र सीमा क्षेत्रमा पर्ने स्थलहरु पनि छन्।’

जिल्लामा रहेका ५५० बढी नेपाल प्रहरी, एक हजार १९८ म्यादी प्रहरी आउँदो निर्वाचनमा खटिने इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। ‘नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना बीच एकिकृत सुरक्षा योजना बन्दै छ, यो योजना बनेपछि मात्र निर्वाचनमा खटिने सुरक्षाकर्मीको संख्या आउनेछ।’

अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने छ। अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ०२ बजे