४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सेर्माहरुको महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न (तस्वीर सहित)

किरात धर्मगुरु र गुरुआमाको हस्तवाहुलीमा दिपप्रज्वलन



पान्थरको कुम्मायक २ माङजाबुङ स्थित किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

आज बुधबार सम्पन्न किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन , सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा माङहिम उद्घाटन समारोह कार्यक्रमको समुद्घघाट्न किरात धर्मगुरु मुहिङगुम आङसिमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ सावा पवित्रहाङमा लिङ्देनज्युहरुको हस्तबाहुलिबाट महाबत्तीमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

सेर्मा संजुम्भोको महाधिबेसन कार्यक्रममा माङ्सेबुङको गुरुनिजी आश्रम बाट पान्थरको माङजाबुङमा हवाई मार्गबाट भएको माङसवारमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन, गुरु सुपुत्र नाम्बीनहाङ लिङदेन रहनु भएको थियो । यसैगरी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी सचिव टंक लिङदेन, पूर्व गुरु निजी सचिव नबिन लिङ्देन ‘माङमिङसोहाङ’, किरात इङ्सेका सम्पादक ज्ञानु केदेम लगायत रहेको थियो ।

पान्थरको कुम्मायक २ माङजाबुङमा सेर्मा तुम्याहाङ प्रतिमा अनावरण र माङहिम उद्घाटन,सेर्मा संग्राहलय शिलान्यास संगै भञ्ज्याङ् स्थित महागुरु फाल्गुनन्द लिङ्देनले स्थापना गरिदिनु भएको माङहिममा सेवा दर्शन गर्नुभएको थियो भने ऐतिहासिक स्थल थेङगेजोङ सुम्हात्लुङ कोक्मामा समेत मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङज्युहरुले अवलोकन तथा गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, विशेष अतिथिहरु पूर्व मन्त्री माननीय नेकपा एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ, नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेकपा माओवादीका अमरसिं थापा, राप्रपाका केन्द्रीय सदस्य तथा प्रवक्ता सगुनसुन्दर लावती, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बुवानजनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सेर्मा सङजुम्भोको महाधिवेशनको अवसरमा विभिन्न धार्मिक, शैक्षिक, सामाजिक,राजनीतिक,सांस्कृतिक,साहित्यिक क्षेत्रमा योगदान पुर्याएका सेर्माहरुलाई  सम्मान गरिएको आयोजक समितिले  बताए ।

कार्यक्रम जिबी याक्थुङबाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा औचित्य मन्तव्य डा.  चन्द्रकुमार सेर्माले गरेका थिए भने संचालन दिलवीर सेर्माले गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : २४ बजे