४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

फाक्फोकथुमकी उपाध्यक्ष राईले पत्रकार धम्क्याएपछि , पत्रकारहरुको विभिन्न संगठनको आपत्ती



इलाम :स्थानीय नागरिकलाई मुक्का हानेर प्रहरी नियन्त्रणमा रहेकी फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती(सरु) राईले थुना मुक्त भए लगत्तै पत्रकारलाई नै धम्क्याएकि छन् ।

शुक्रवार साँझ ५ बजे इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको आदेशमा पाँच हजार धरौटी बुझाएर फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई प्रहरी नियन्त्रणबाट मुक्त भइन् ।

प्रहरीबाट मुक्त हुनेवित्तिकै उनले आफुलाई केही व्यक्तिले फँसाएको बताइन् । आफ्नो लोकप्रियताबाट आत्तिएकाहरुले कु—प्रचार गरेर आफुलाई सक्न लागेको भन्न पनि भ्याइन् । केही पत्रकारले घटनालाई तोडमोड गरि समाचार लेखेको आरोप समेत लगाइन् ।

उपाध्यक्ष राईले राती करिब ८ बजेतिर फेसबुक स्टाटस मार्फत उदण्डताको विरुद्धमा हात उठाउन बाध्य रहेको बताइन् । तर केही समयपछि उनले उक्त स्टाटस हटाइन् । उनको आवेग यतिमै मात्र सिमित रहेन ।

उनले समाचार लेखेका केही पत्रकारलाई फेसबुकमै हप्काउन पनि भ्याइन् । समाचारलाई किन तोडमोड गरेको भन्दै उनले पत्रकारलाई फटाहा भन्दै म्यासेज समेत पठाइन् । पत्रकारले आम नागरिकमा भ्रम छरेको भन्दै आइतबार विहान पुन अर्को स्टाटस लेखिन् ।

उनले आफूलार्ई कानुन राम्ररी थाहा भएको बताउँदै समाजसेवामा रहेका हात फलाम बनेको स्टाटस समेत लेखिन । फाकफोकथुम गाउँपालिका १ का कृष्णबहादुर खड्कालाई कुटपीट गरेको जाहेरी परे पछि उपाध्यक्ष राई प्रहरीकोमा उपस्थित भएकी थिईन ।

घटना पछि शनिबार पत्रकार महासंघ इलाम शाखा, प्रेस मञ्च नेपाल जिल्ला कार्य समिति इलाम र नेपाल प्रेस युनियन इलाम शाखाले बिज्ञप्ती जारी गर्दै समाचारको बिषयलाई लिएर पत्रकारलाई गाली गलौज र धाकधम्की नदिन अपिल गरेको छ । महासंघ शाखा अध्यक्ष बिप्लव भट्टराई र सचिव भिम चापाँगाईद्धारा हस्ताक्षर गरिएको छ ।

यसैगरि प्रेस मञ्च अध्यक्ष ज्ञानु केदेम र सचिव आन्छुमे नसानद्वारा हस्ताक्षरित बिज्ञप्तीमा समाचारका बिषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदा हुँदै सामाजिक संजालमा गालीगलोज र म्यासेज लेखेरै धम्कीपूर्ण गाली गर्नु निन्दनिय भएको जनाईएको छ ।

नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि जाई लाग्ने बन्द गर्न चेतावनी दिएको छ । युनियनकी अध्यक्ष सविता पाण्डे र सचिव टीका खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जिल्लाका जिम्मेवार सञ्चारकर्मीमाथि लक्षित उपाध्यक्ष राईको प्रतिकृयाले समग्र सञ्चार जगत माथि नै धावा वोलेको अनुभूति हामीले लिएका छौं ।’

पछिल्लो एक महिनादेखि फाकफोकथुम गाउँपालिका अशान्त छ । गाउँपालिकाले मौसमी कामदार कोरिया पठाउने प्रक्रियालाई पारदर्शी नगरेको भन्दै स्थानिय युवाहरु आन्दोलित छन् । गाउँपालिकाका केही जनप्रतिनिधिले आफ्ना नजिकका मान्छेलाई मात्र सुटुक्क कोरिया पठाउन लागेपछि युवाहरु छनौट प्रक्रिया पारर्दर्शी हुनुपर्ने भन्दै आन्दोलित छन् ।

गाउँपालिका जनज्रतिनिधिले भावण्डामा कोटा निर्धारण गरी गाउँपालिका भन्दा बाहिरका मान्छेलाई पनि कोरिया पठाउन लागेको स्थानिय युवाको आरोप छ । आन्दोलनरत युवा र गाउँपालिकावीच भएको वार्ताकै क्रममा गाउँपालिका उपाध्यक्षले स्थानिय युवकलाई कुटपिट गरिन् ।

उनले ती युवकलाई नभएको आरोप किन लगाएको भन्दै कुटपिट गरेको अडियोमा सुन्न सकिन्छ । उनको यस्तो हर्कत भने पहिलो पटक नभएको फाकफोथुमबासी बताउँछन् । उनले यसभन्दा अघिपनि गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गरेकी थिइन् ।

आवश्यक ऐन—कानुन निर्माण गरी शुसासन कायम गर्नुपर्नेमा उपाध्यक्ष राई ठिक उल्टो यात्रामा छिन् । जनताका सेवक हुनुपर्नेमा जनप्रतिनिधिका पछिल्ला हर्कतले सर्वसाधारणमा निराशा बढ्दो छ । उपाध्यक्ष राई फाकफोकथुम गाउँपालिकाकी न्यायीक समिति संयोजक समेत हुन । जहा उन्ले अन्यायमा परेकालाई न्याय दिनु पर्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ४२ बजे