एजेन्सी : श्रीलंकाको राष्ट्रपतिमा रणिल विक्रमसिंघे निर्वाचित भएका छन् । उनी श्रीलंकाको आठौं राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् ।
विक्रमसिंघेले १ सय ३४ मत पाए भने उनका प्रतिद्वन्द्वी दलास अल्हपेरुमाले ८२ मत प्राप्त पाएका छन् । राष्ट्रपतिमा विक्रमसिंघे‚ अल्हपेरुमा र वामपन्थी जनता विमुक्ति पेरामुना ९जेभीपी० नेता अनुरा कुमारा दिसानायके बीच प्रतिस्पर्धा भएको थियो ।
कुल २ सय २३ सांसदले मतदान गरेका थिए भने २ जना सांसदले मतदान बहिष्कार गरेका थिए । २ सय २३ मतमध्ये २ सय १९ मत लाई मान्य मानिएको थियो भने चार मत अमान्य घोषित गरिएको थियो ।
राष्ट्रपतिको चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै विक्रमसिंघेले सबै पक्षलाई मिलेर काम गर्न अपिल गरे र श्रीलंकालाई यस्तो अप्ठ्याराबाट मुक्त हुन आग्रह गरे । उनले बिहीबार सबै दलहरूसँग बसेर वार्ता गर्ने पनि बताए ।
गोताबाया राजपाक्षे श्रीलंकाबाट भागेर राजीनामा दिएपछि विक्रमसिंघेलाई कार्यकारी राष्ट्रपति बनाइएको थियो । विक्रमसिंघेको कार्यकाल २०२४ नोभेम्बरमा अन्त्य हुनेछ ।
उनले गोताबाया राजपाक्षेको बाँकी अवधि पूरा गर्नेछन् । जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले देश छोडेर माल्दिभ्सपछि सिंगापुर पुगेका थिए । यसपछि विक्रमसिंघेले अध्यक्षको जिम्मेवारी पाएका थिए ।