१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

राप्रपा अध्यक्ष लिङ्देनद्वारा निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह



किरात समाचार :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनले  प्रदेश–१ स्तरीय दुई दिने पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा  आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएको हो ।

कार्यक्रमलाई लिङ्देनले भने ‘संसदीय निर्वाचनका लागि अहिल्यैदेखि तयारी शुरू गर्नुहोस ।’ निर्वाचनलाई गम्भीर रूपमा लिन आफ्ना कार्यकर्ताहरूलाई सुझाएका हुन् ।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा राजेश गिरी र सहप्रवक्ता दिनेश शाहले पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र संघीय र प्रदेशसभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा. गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावी कार्ययोजना, जयबहादुर श्रेष्ठले साम्यवाद, समाजवाद, पूँजीवाद र उदारवाद, भुपेन्द्र भण्डारीले हिन्दु धर्म, राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति  विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रदेश-१ का १४ जिल्ला अध्यक्ष, संसदीय क्षेत्र, प्रदेशसभा सदस्य क्षेत्र, महिला गरी दुई सयजनाको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास, निर्वाचन, मतदान केन्द्र र मतगणनाको महत्व, पार्टी दिशानिर्देशन र पार्टी एजेण्डा विषयक कार्यपत्र प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ३३ बजे