३० असार २०८२, सोमबार | Tue Jul 15 2025

प्रदेश १ को नामकरण लिम्बुवान,किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



किरात समाचार : प्रदेश १ को नामकरण सन्दर्भमा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार झापाको विर्तामोडस्थित होटल विनायकमा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयोजनामा लिम्बुवान,किरात प्रदेश बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् झापाका सल्लाहकार कृष्ण थेबेले भने ‘प्रदेश १ को नाम लिम्बुवान किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको बताएका थिए ।’

अर्का वक्ता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रान्तिय उपाध्यक्ष बिष्णु भट्टराईले लिम्बुवान र किरात कुनै एक जातिसँग मात्र सम्बन्ध नभएको कुरा प्रष्ट पार्दै ऐतिहासिक भूगोल र सभ्यतासँग सम्बन्धित रहेको बताए । यसैगरी कियाचु लिम्बुवान प्रदेश सचिव इक्साहाङ् चेम्जोङ्ले साउन १७ गतेदेखि विरानगरमा आयोजना गरिने धर्ना कार्यक्रमको खाका बारे जानकारी गराए ।

कार्यक्रममा सहभागी कियाचु झापाका पूर्व अध्यक्ष तथा जसपा केन्द्रीय सदस्य भक्त खेवाङ्, याक्थुङ लेखक संघका केन्द्रीय कोषाध्यक्ष साङ्सेन पन्धाक, याक्थुङ् मुन्चईत चोकसयङ्का महासचिव बिक्रम वनेम फागो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय सदस्य दिपक योङ्हाङ्, प्रान्तिय सचिव सन्तोष तुम्वापो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला उपाध्यक्ष अमित खम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विशसताक्षी नगर अध्यक्ष विचारी लावती, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मु, पहिचानवादी कवि संगम सुहाङ्लगायत कियाचु जिल्ला पदाधिकारी, सदस्यहरु, वडा पदाधिकारी, सदस्यहरु, संयुक्त संघर्ष समितिमा आबद्ध दलीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

अन्तरक्रिया कार्यक्रम लिम्बुवान ,किरात संयुक्त संघर्ष समिति झापा संयोजक सेसेहाङ् फियाक लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : २१ बजे