२ असार २०८१, शनिबार | Sat Jun 15 2024

झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको माग गर्दै कोणसभा सम्पन्न



दमक : झापाको गौरादह बजारमा प्रदेश न १ को नामाकरण लिम्बुवान, किरात राख्न माग गर्दै कोणसभा सम्पन्न गरेको छ ।

सोमबार लिम्बुवान,किरात संयुक्त संघर्ष समिति झापाको आयोजनामा झापाको पुरानो ऐतिहासिक बजार गौरादहमा लिम्बुवान,किरात प्रदेशको माग गर्दै कोणसभा सम्पन्न गरेको हो ।

सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा संघर्ष समिति कार्यदल सदस्य अशोक चेम्जोङ्ले भने ‘प्रदेश १ को नामाकरणको सन्दर्भ उठेको लिम्बुवान आन्दोलनले स्थापित गरेको राजनैतिक मुद्धालाई जातियतासँग जोडेर कोशीमा बगाउन खोज्ने राज्यसत्ताका पहरेदारहरुसँग प्रदेश १ को नाम लिम्बुवान, किरात घोषणा नगरे कुनैपनि सम्झौता हुन नसक्ने बताउँदै राष्ट्रिय राजनीतिको मूलधारको रुपमा आफुलाई स्थापित गरेर राज्य सञ्चालन गर्ने गरेको दावी गर्ने सत्ताधारीहरुले लिम्बुवान, किरात प्रदेश घोषणाको मागलाई बेवास्ता गरे भने दीर्घकालसम्म आन्दोलन नरोकिने कुरा राख्दै अन्त्यमा लिम्बुवान, किरात आन्दोलन स्वतन्त्रताको क्रान्तिमा होमिन सक्ने चेतावनी दिनुभयो ।’


अर्का वक्ता जसपा केन्द्रीय सदस्य तथा कियाचु झापाका सल्लाहकार धिरेन लावतीले भने ‘प्रदेशको नाम लिम्बुवान, किरात प्रदेश घोषणा हुनपर्छ भन्ने माग बिना आधार अघि सारिएको नभई ऐतिहासिक भूगोल र सभ्यताको कुरालाई जोडेर अघि सारिएको र यो लिम्बुवान र किरात भूगोल नै वास्तवमा प्रदेशन न.१ को ऐतिहासिक, प्राचीन र साझा पहिचान र अस्तित्वको मूल आधार भएकाले प्रदेश न.१ को पहिचानयुक्त साझा नाम र सर्वस्वीकार्य नाम हुन सक्ने दावी गर्नुभयो ।’

यसरी नै कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य गजेन्द्र मिभकले आन्दोलनले स्थापित भएको पहिचान र अस्तित्वको मागलाई राज्यका सत्ताधारीहरुले स–सम्मान मान्यता दिएर सम्बोधन नगरे फेरिपनि जनक्रान्तिले स्थापित गरि छाड्ने कुरामा जोड दिनुभयो ।’                                                   

कोणसभालाई सम्बोधन गर्दै किरात याक्थुङ् चुम्लुङ् लिम्बुवान प्रदेश सचिव तथा संघर्ष समिमतका कार्यदल सदस्य इक्साहाङ् चेम्जोङ्ले प्रदेश न. १ को राजधानी विराटनगर केन्द्रित धर्ना कार्यक्रम साउन १७ गतेदेखि निरन्तर प्रदेश सदन चलिञ्जेल परिचालन गरिने भएकोले सम्पूर्ण पहिचान र अस्तित्ववादी पक्षधरहरु एकजुट भई आन्दोलनमा सहभागी भइदिन आग्रह गर्नुहुँदै प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको कुरा बताउनुभयो ।

युवा सामाजिक व्यक्तित्व विरेन्द्र याक्थुङ्बा लगायत विभिन्न सामाजिक संघसंस्थाका नेता कार्यकर्ताहरुले सम्बोधन गरेको कोणसभा कार्यक्रममा झपाका विभिन्न क्षेत्रका जनसमूहको उपस्थिति भएको थियो ।

किरात याक्थुङ् चुम्लुङ् झापा अध्यक्ष तथा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापा संयोजक सेसेहाङ् फियाक लिम्बुको सभापतित्वमा गौरादहको डिपोचौकमा सम्पन्न कोणसभाको कार्यक्रम संयुक्त संघर्ष समिति सदस्य सचिव ओमप्रकाश खापुङ्ले सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ३८ बजे