१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

किरात सगरमाथाको माग गर्दै समितिले नेता खनाललाई बुझायो ज्ञापनपत्र



किरात समाचार  : प्रदेश नं १ को नामाकरण बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार पहिचान सहित प्रदेश नं १ को ‘किरात सगरमाथा’ नामाङकन गर्न वरिष्ठ नेता खनाललाई शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाएको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।                                                               

यसैक्रममा नेता खनालले बहु पहिचानमा आधारित किरात सगरमाथा उपयुक्त देखिएको तर अझै यश बारेमा व्यापक छलफल गरि चुनाव पछि उपयुक्त ढंगले नामांकन गर्ने बताएका छन ।

यसरी राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने, ज्ञापनपत्र बुझाउने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मंगलबार दबाव समितिले भेट गरेको संयोजक थेगिमले बताएका छन् ।

संयोजक थेगिमका अनुसार एमालेका अध्यक्ष ओलीसँग बुधबार पुनः भेट्ने कार्यक्रम रहेको छ । सो दबाब समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सोमबार ज्ञापनपत्र बुझाएको थियो ।

प्रदेश नम्बर १ को नाम प्रदेश संसद्को यही अवधिभित्र टुङ्ग्याउने प्रदेश सरकारले तयारी गरेसँगै नामाङकनको विषयले चर्चा पाएको छ । प्रदेशको नामङकनका लागि विभिन्न दल, सामाजिक तथा जातीय संस्था विभिन्न नामहरु प्रस्ताव गर्दै आन्दोलन चर्काइरहेका छन् ।                                                                           

ज्ञापन पत्रको पुर्णपाठ
पहिचान सहितको प्रदेश नं. १ को नामाकरणको लागि शान्तिपूर्ण नैतिक दवाव समिति प्रदेश नं. १ दमक, झापा, नेपाल

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू प्रधानमन्त्रीको कार्यालय, सिंहदरवार काठमाण्डौं

विषय : – ज्ञापन पत्र

नेपालमा २०६२/०६३ को महान जनआन्दोलनवाट प्राप्त भएको आमूल परिवर्तन पश्चात दोस्रोपटकको संविधानसभाबाट २०७२ सालमा नेपाली जनतालाई नयां संविधान प्राप्त भयो । उक्त संविधानमा संघीयता लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विषयहरु समेटिएका छन्। मुलुकमा लामो समयसम्म रहेको द्वन्द्वलाई समाप्त गर्दै दिगो शान्ति र समृद्धिको लागि जम्मा ७ प्रदेश कायम गरेर अघि बढ्ने प्रमुख राजनीतिक दलहरुको आन्तरिक सहमति भई अहिलेसम्म ६ वटा प्रदेशको नामांकन भैसके पनि पूर्वका १४ वटा जिल्ला समेटिएको प्रदेश नं. १ नामाकरण बाँकी छ र यो विषय निकै पेचिलो हुँदै गएको छ। वास्तवमा संघीयताको मर्म भनेकै सम्बन्धित प्रदेशमा भूगोलमा बसोवास गर्ने जनताहरुको पहिचानलाई सम्बोधन गर्दै सबै नागरिकको भाषा, लिपि, धर्म, संस्कृति इतिहास र सभ्यताको सम्मान गर्नु हो । त्यसैले बहुजाति बहुधार्मिक वह सांस्कृतिक र बहुभाषिक नागरिक बसोवास भएको यस प्रदेशको नामाकरण बहुपहिचानमा आधारित “किरात सगरमाथा प्रदेश” हुन सर्वमान्य हुनेछ ।                                       “किरात सगरमाथा प्रदेश नामाकरण किन ?

नेपालको प्राचीन किरात सभ्यता संसारको प्राचीन सभ्यता हो । यो सभ्यता उत्तरी हिमवत्खण्डमा हुर्केको विकसित भएको हिमवत्सस्कृति हो । यही हिमवत्संस्कृति आज नेपालमा बसोवास गर्नु सबै जातजाति र समुदायमा सिचित छ । तसर्थ किरात साझा सभ्यताको नाम हो । यसका साथसाथै किरात भूगोलको नाम हो । नेपालको पुरानो प्राचीन नाम किरात देश थियो जुनवेला नेपालको सिमाना अहिलेको सिमानाभन्दा वाहिरसम्म फैलिएको थियो । हाम्रो प्राचीन इतिहास र पौराणिक शास्त्रहरुले यहि करा पुष्टि गर्दछन् । पहिल्लो समयमा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्नु भन्दा अगाडि सांगा पूर्व टिस्टा नदीदेखि पश्चिमसम्मको भूभागलाई वल्लो किरात, माझ किरात र पल्लो किरात नामले अस्तित्वमा थिए । त्यसैले यस १४ जिल्ला समेटिएको प्रदेश न १ को नामाकरणमा किरात शब्द समेटिन आवश्यक छ ।

शुरुआतदेखि विविधताभित्र एकताको सूत्रमा बाँधिएर बसेका हामी नेपालीहरुमा परस्परमा एकले अर्काको हकहित र मान मर्यादाको सम्मान गर्दै सह-अस्तित्वको सिद्धान्तमा अडिग छौ । तसर्थ नेपाललाई विश्वभरी चिनाउने समग्र नेपालको शीर विश्वकै शीर प्रदेश नं. १ को भूगोलभित्र रहेको सर्वोच्च शिखर सगरमाथा हिमाललाई जोडेर बहुपहिचानमा आधारित प्रदेश नं. १ को “किरात सगरमाथा प्रदेश नामाकरण गर्नको लागि निष्पक्ष माग राख्दछौं । गत २०७४ मा सम्पन्न संघ र प्रदेशको संसदीय चुनावको घोषणा पत्रहरुमा जनाइएको प्रतिवद्धतामा बहुपहिचानमा सबैको पहिचान भेटिने र जातीय द्वन्द्व पनि मेटिने” जस्ता लोकप्रिय नाराहरुको स्मरण गर्दै मुलुकमा दिगो शान्ति र समृद्धि कायम गर्न प्रदेश नं. १ लाई “किरात सगरमाथा प्रदेश” घोषणा गरियोस भनी ज्ञापन पत्र पेश गर्दछौ । हाम्रा नाराहरु

पहिचान विनाको प्रदेशको नामाकरण मान्दैनौ
किरात सगरमाथा प्रदेश जिन्दाबाद
पहिचानवादीहरु एक हो ।
शान्तिपूर्ण सहअस्तित्व कायम गरौं । सामाजिक सद्भाव कायम गरौं ।

पहिचान सहितको प्रदेश नं. १ को नामाकरणको लागि शान्तिपूर्ण नैतिक दवाव समिति
दमक झापा नेपाल

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ३९ बजे