विराटनगर : प्रदेश १ को नाम लिम्बुवान, किरात प्रदेश राख्न माग गर्दै प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । लिम्बुवान किरात संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न ३५ वटा पहिचान पक्षधर राजनीतिक दल सामाजिक संघसंस्था संगठन सम्मीलित घटकले प्रदेश राजधानी बिराटनगर संसद भवन अगाडि धर्ना दिएको हो ।
मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव डा.ओम गुरूङले पूर्वको लिम्बुवान, किरातको आन्दोलनले दोस्रो जनान्दोलनको झल्को दिएको भन्दै तमुवानदेखि खसानसम्मको साथ रहेको बताए । उनले आदिवासी राई र लिम्बु समुदायको संयुक्त आन्दोलनले मात्रै पहिचान सुरक्षित हुने भन्दै यायोक्खाका नेतृत्वलाई चुम्लुङसँग समन्वय गरेर आन्दोलन गर्न सुझाव दिए । ‘लिम्बुवान, किरात प्रदेश भए भोलि बेग्लै किरात प्रदेश र लिम्बुवान प्रदेश बनाउन सकिनेछ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरूङले लिम्बुवान, किरात प्रदेश सुनिश्चित नभए अझ सशक्त आन्दोलन गर्ने बताए । अर्का वक्ता राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विदु कायस्थ अब आउने प्रदेश र संघीय चुनावमा पहिचानवादीहरूले बलियो मत ल्याउने दाबी गर्दै पहिचानका आधारमा नामकरण नभए अशान्ति हुने चेतवानी दिए । उनले सात प्रदेशमध्ये पूर्वमा लिम्बुवान र किरात प्रदेश घोषणा गर्नेबित्तिकै अन्य पाँच प्रदेशमा समेत त्यसको सकारात्मक असर पुग्ने बताए ।

यसैगरी, नेपाल आदिवासी जनजाति महासंघका पूर्व कार्यवाहक महासचिव एवम् थामी समाजका अध्यक्ष सुकवीर थामीले नेपालको पहिचानको आन्दोलनमा सुदूरपश्चिममा थारू समुदाय र सुदूरपूर्वमा लिम्बु समुदायको उल्लेख्य योगदान रहेको बताए । उनले महासङ्घका नेतृत्वहरू प्रदेश एकको नाममा अस्पष्ट रहेको भन्दै आदिवासी जनजातिहरूको राष्ट्रिय राजनीतिक सम्मेलनले दश जोड एक प्रदेश र प्रदेश एकलाई लिम्बुवान, किरात प्रदेश बनाउने घोषणापत्रमा उल्लेख गरेको स्मरण गराए ।
त्यस्तै, जसपा लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य मातृका धिमालले १८३१ मा लिम्बुवान रक्षाका लागि काङ्सोरेस्रँगै लडेका बाङ्गाई धिमालसँगै सात दिन सात रात लडेको भन्दै लिम्बुवानप्राप्तिका लागि तीसौँ दिन लड्न तयार रहेको उदघोष गरे । उनले पहिचानलाई विकृत पार्न र फुटाउन राज्यसत्ताले षड्यन्त्र गरिरहेको बताए । उनले प्रदेश एकका सांसदले लिम्बुवान, किरात प्रदेश पारित नगरे सांसदसँगै परिवारले समेत गुहार माग्नुपर्ने अवस्था आउने उनले बताए ।
सभामा कवि साङ्सेन वरक पङ्धाकले आफ्नो सिर्जना समेत सुनाएका थिए । यस्तै, गायक यादन शेर्माले गीत प्रस्तुत गरेका थिए । सो अवसरमा लेखक एवम् विश्लेषक खगेन्द्र सङ्ग्रौलाको आन्दोलनप्रतिको ऐक्यबद्धतासहितको सन्देश समेत पाठ गरिएको थियो । सभालाई विद्यार्थी नेताद्वय सागर सरगम चेम्जोङ र प्रदीप नेयोङले सञ्चालन गरेका थिए । संघर्ष समितिले यसअघि साउन ५ गते र साउन १० गते बृहत् शक्ति प्रदर्शन र धर्ना कार्यक्रम राखिसकेको छ ।



