साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ ।
शुक्रबार भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गर्दा हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।
रोमान्चक खेलमा दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए ।
तर, खेलको ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल भारतलाई २–२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो । खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३–२ को अग्रता दिलाए । यस्तै खेलको ९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारत ४–२ ले अघि रह्यो ।
त्यसपछि खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५–२ को जित दिलाए ।