किरात समाचार : प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको छ ।
पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।
यसरी संगठन निर्माण गर्ने क्रममा शनिबार लक्ष्मी योङहाङको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दवाव समिति झापा गठन भएको छ । समितिको सह संयोजकमा लिला कन्दङवा, मुना याम्फू रहेका छन् ।
समितिको सचिवमा भानु सामेखाम, अर्थ संयोजकमा विनोद ताप्मादेन, सह संयोजकमा भीमकुमारी योङहाङ, समन्वय संयोजकमा अर्जुन लिङ्देन र अर्जुन लाओती लगायत रहेको दबाव समितिका सचिव पृथीमान खालिङले जानकारी दिए ।
शान्तिपूर्ण नैतिक दवाव समितिले विभिन्न जिल्ला र गाउँमा संगठन विस्तार गर्ने क्रममा शनिवार जयकुमार चबेगुको संयोजकत्वमा ११ सदस्यीय केराबारी गाउँ समिति गठन गरिएको छ।
शुक्र आङदेम्बे, रुपधोज चबेगु र ज्ञानेन्द्र राई सहित ३ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको शान्तिपूर्ण नैतिक दबाव समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङले बताएको छ । यसरीनै शुक्रबार मोरङको पथरीशनिश्चरे नगर समिति ज्ञानेन्द्र रार्इको संयोजकत्वमा गठन भएको छ।
सुनसरी जिल्ला ईंटहरी उपमहानगर पालिकामा किरात धर्म तथा साहित्य उत्थान संघ नगर समितिका अध्यक्ष गजेन्द्र पालुङ्वाको अध्यक्षतामा बसेको नगर समितिको बैठकले कृष्ण खजुमको संयोजकत्वमा १७ सदस्य रहेको शान्तिपूर्ण नैतिक दवाव नगर समिति गठन गरे दबाव समितिका सुनसरी अध्यक्ष बुद्धिमान थाङदेनले बताएको छ ।
प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामाकरणको लागि राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने, ज्ञापन पत्र बुझाउने, लबिङ गर्ने कार्य र विभिन्न जिल्लाहरुमा जिल्ला र पालिका स्तरीय समिति समेत गठन गर्ने कार्य समेत भइरहेको शान्तिपूर्ण नैतिक दबाब समितिका संयोजक थेगिमले बताए ।
प्रदेश नम्बर १ को नाम प्रदेश संसद्को यही अवधिभित्र टुङ्ग्याउने प्रदेश सरकारले तयारी गरेसँगै नामाङकनको विषयले चर्चा पाएको छ । प्रदेशको नामङकनका लागि विभिन्न दल, सामाजिक तथा जातीय संस्था विभिन्न नामहरु प्रस्ताव गर्दै आन्दोलन गर्दै आएका छन् । अहिलेसम्म चर्चामा रहेको प्रस्तावित नाममा किरात सगरमाथा, लिम्बूवान किरात, किरात, कोशी, सप्तकोसी लगायत छन् ।