१ असार २०८२, आइतबार | Mon Jun 16 2025

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका



काठमाडौं : कोरोना  सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।

उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे । “खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछौं”, उनले भनेका छन् ।

आज मात्र कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ । नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ ।

मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ ।

यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुष्टर मात्रा लगाउन आग्रह गरिएको छ । बुष्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । सरकारले लक्षित जनसङ्ख्याको ९३ दशमलव ३ प्रतिशत पहिलो मात्रा र ८८ दशमलव ५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : १० बजे