२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

पाँचथरका पत्रकार सेर्मा फोनिज पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै



पान्थर : पाँचथरका पत्रकार कविन्द्र सेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले स्थापना गरेको ‘फोनिज पत्रकारिता पुरस्कार २०७९’बाट पुरस्कृत हुनेभएका छन् ।

फोजिन पाँचथरको गत मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार सेर्मालाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।

सेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएको अध्यक्ष बम्जनले दाबी गरेका छन् ।

फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि कार्यक्रममा उक्त पुरस्कार वितरण गरिनेछ ।

फोनिजका संस्थापक अध्यक्षसमेत रहेका सेर्मा पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष र न्यूज २४ पाँचथरका संवाददाता पनि हुन् । शेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने अध्यक्ष बम्जनले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  २ : २० बजे